जय ट्रफीमा पुरानै दृश्य : आर्मीविरुद्धको खेलमा सन्दीप लामिछाने फेरि अम्पायरसँग भिडे
काठमाडौं : राजधानीको मुलपानी क्रिकेट मैदानमा जारी जय ट्रफी पुरुष इलिट कपअन्तर्गत बागमती प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको खेलमा मंगलबार रोचक र केही तनावपूर्ण दृश्य देखियो।
बागमतीका कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने मैदानमै अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै कड्किए। पहिलो दिन बागमती प्रदेशले ७० ओभर ब्याटिङ गर्दै २५९ रन बनाएर इनिङ्स सकेपछि जवाफी ब्याटिङमा उत्रिएको आर्मीको इनिङ्सका दौरान यो घटना भएको हो।
आर्मीले ब्याटिङ गरिरहँदा खेलको ५३औं ओभर सन्दीप लामिछानेले फ्याँकिरहेका थिए। क्रिजमा थिए, आर्मीका अनुभवी ब्याटर विनोद भण्डारी। ओभरको दोस्रो बलमा सन्दीपले विनोदलाई बलिङ गरे। ब्याटरले प्रहार गरेको बल सिधै सन्दीपतर्फ नै फर्कियो।
सन्दीपले तत्कालै बल टिपेर स्ट्राइकर एन्डको स्टम्पतर्फ थ्रो गरे। त्यतिबेला विनोद भण्डारी क्रिजभित्रै थिए। स्टम्पतर्फ आउँदै गरेको बललाई विनोदले आफ्नो खुट्टाले छेके। बलले स्टम्पमा लाग्न नपाएपछि सन्दीपले तत्कालै क्रिकेटको ‘अब्स्ट्रक्टिङ द फिल्ड’ (मैदानमा बाधा पुर्याएको) नियमअनुसार आउटको अपिल गरे।

तर, अनफिल्ड अम्पायरद्वय बुद्धिबहादुर प्रधान र राम पाण्डेले सन्दीपको अपिललाई खारेज गर्दै आउट दिन इन्कार गरे। विनोद क्रिजभित्रै रहेको र बलले आफूलाई लाग्नबाट बच्न गोडाले रोकेको भन्दै अम्पायरले सन्दीपले माग गरेको ‘अब्स्ट्रक्टिङ द फिल्ड’को आउटलाई नकारेका हुन्।
मैदानमै गलफती
अम्पायरले आउट नदिएपछि सन्दीप लामिछाने आक्रोशित देखिए। उनी सिधै अम्पायरहरू नजिक पुगेर निर्णयको विरोध गरे। क्रिकेटको नियमअनुसार यदि कुनै ब्याटरले खेल भइरहेको अवस्थामा नियतवश आफ्नो कार्यद्वारा विपक्षी टोलीको फिल्डिङमा बाधा पुर्याउँछ भने उसलाई आउट दिन सकिने प्रावधान छ।
सन्दीपले यही नियमको हवाला दिँदै अम्पायरसँग बहस गरेका थिए। अम्पायर र सन्दीपबीच मैदानमै लामै समय भनाभन चलेको थियो। यद्यपि, अम्पायरले आफ्नो निर्णय परिवर्तन गरेनन्। अन्ततः असन्तुष्टिका बाबजुद सन्दीपले अम्पायरको निर्णयलाई स्वीकार गर्दै ५३औं ओभरको तेस्रो बल फ्याँक्न तयार भए।

आर्मीविरुद्धको खेलमा सन्दीप र अम्पायरको पहिले पनि नोकझोक
जय ट्रफीमा सन्दीप लामिछानेले अम्पायरको निर्णयमाथि प्रश्न उठाएको र विवाद गरेको यो पहिलो घटना भने होइन। अघिल्लो संस्करणको जय ट्रफीमा पनि यस्तै दृश्य देखिएको थियो।
गत वर्ष पुस २५ गते जय ट्रफीअन्तर्गत नै बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेलमा अम्पायरको निर्णयलाई लिएर सन्दीपले ठूलो विवाद गरेका थिए। बागमतीका शुभ कंसाकार आउट भएपछि तत्कालीन फिल्ड अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले दिनको खेल सकिएको इसारा गरेका थिए। उक्त निर्णयप्रति सन्दीपले मैदानमै आपत्ति जनाएका थिए।
त्यतिमै कुरा रोकिएन, भोलिपल्ट पुस २६ गते सन्दीपले सामाजिक सञ्जालमै स्ट्याटस लेख्दै नेपालका अम्पायरहरूको स्तर सुधार नभएको भन्दै कडा आलोचना गरे। अम्पायरका कारण नेपाली खेलाडी सधैँ पीडित बनेको उनको आरोप थियो।
उक्त घटनापछि प्रतियोगिताको प्राविधिक कमिटी र म्याच अम्पायरले क्यानलाई बुझाएको प्रतिवेदनका आधारमा सन्दीपलाई अनुशासनहीन कार्य गरेको (आचारसंहिताको धारा २.७ विपरीत) ठहर गर्दै घरेलु क्रिकेटको एक खेलमा प्रतिबन्ध लगाइएको थियो। साथै, उनलाई ३ ‘डिमेरिट अंक’ समेत दिइएको थियो।
यसपटक पनि संयोग कस्तो जुरेको छ भने, प्रतियोगिता ‘जय ट्रफी’ नै हो, बागमतीको प्रतिद्वन्द्वी ‘त्रिभुवन आर्मी’ नै हो र अम्पायरमाथि प्रश्न उठाउने खेलाडी पनि ‘सन्दीप लामिछाने’ नै हुन्। फरक यत्ति हो- यसपटक अम्पायरहरू परिवर्तन भएर बुद्धिबहादुर प्रधान र राम पाण्डे रहेका छन्।
फागुन १२, २०८२ मंगलबार १०:५१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।