अनुशासन उल्लङ्घन गर्नेप्रति जसपा नेपाल निर्मम, तीन जनप्रतिनिधिसहित १५ नेता निष्कासित

अनुशासन उल्लङ्घन गर्नेप्रति जसपा नेपाल निर्मम, तीन जनप्रतिनिधिसहित १५ नेता निष्कासित

जलेश्वर : जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर-३ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै जसपाले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव र उपाध्यक्ष बन्दना पाण्डेलाई आजैको मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरेको हो।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश रायले एक विज्ञप्ति जारी गर्दै पार्टीको हित विपरीत अनुशासन र विधान विपरीत कार्य गरेको आरोपमा उनीहरूसहित १५ जना नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिए।

यसैगरी पार्टीका केन्द्रीय सदस्य श्याम यादव, हरिनारायण मण्डल र प्रदेश सदस्य बन्दना पाण्डेलाई केन्द्र र प्रदेशमा निष्कासनको लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ।

यहाँ जसपा नेपालले महोत्तरी-३ मा मीनाक्षी ठाकुरलाई उम्मेदवार दिएको छ, तर निजहरूले पार्टीकै बागी एवं स्वतन्त्र उम्मेदवार हरिनारायण यादवलाई सहयोग गरिरहेका छन्। 

फागुन ११, २०८२ सोमबार २२:४४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।