आर्थिक अभावमा रोकियो साम्बाको घुँडाको शल्यक्रिया, एन्फा पन्छिएपछि गरिन् सहयोगको अपिल
काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडाको जटिल शल्यक्रिया र उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) उपचारको व्यवस्थापनबाट पन्छिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उपचारका लागि सहयोग मागेकी हुन्।
भण्डारीका अनुसार उनको घुँडाको ‘एसीएल’ (यसअघि शल्यक्रिया गरी हालिएको ग्राफ्ट) र ‘एमसिएल’ दुवैमा चोट लागेको छ। चोट लागेको ३ सातापछि नै उनी आबद्ध न्युजिल्यान्डको क्लबले शल्यक्रियाको मिति तय गरेको थियो। तर, एन्फाले आफ्नै तर्फबाट उपचारको पहल गर्न भनेपछि उक्त प्रक्रिया रोकिएको उनको भनाई छ।
पटक पटकको प्रयासपछि पनि एन्फाबाट प्रक्रिया अघि नबढेको र ५ लाखसम्मको उपचार खर्च व्यवस्थापन हुने भनेपछि आफ्नो उपचार अनिश्चित बनेको भण्डारीले उल्लेख गरेकी छन्। क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन पहल गर्नुका साथै बिमाबाट प्राप्त रकम उपलब्ध गराउने बताएको छ। तर, चोट गम्भीर रहेको र यसअघि पनि कतारको ‘अस्पेटार’ अस्पतालमा गरिएको उपचार प्रभावकारी भएकाले भण्डारीले पुनः सोही अस्पतालमा शल्यक्रिया गराउने इच्छा राखेकी छन्।
शल्यक्रिया र त्यसपछिको ७-८ महिना लामो ‘रिह्याब’का लागि क्लबको बिमा रकम मात्र अपुग हुने हुँदा कुल ८० हजार डलर आवश्यक पर्ने प्रारम्भिक आँकलन रहेको उनले उल्लेख गरेकी छन्। सरकारसमक्ष पनि उपचारका लागि सहयोगको प्रयास भइरहेको तर सरकारी प्रक्रिया सुस्त हुँदा शल्यक्रिया थप लम्बिने अवस्था आएको उनले बताएकी छन्।
क्लबको लागि खेल्दा चोट लागेको भनेर एन्फा व्यवस्थापन पन्छिन खोजेको तर्कप्रति उनले निराशा व्यक्त गरेकी छन्। इजरायल, फ्रान्स वा अष्ट्रेलिया-न्युजिल्यान्ड जहाँ खेले पनि आफूले व्यक्तिगतभन्दा बढी राष्ट्रकै पहिचान बोकेको र देशका लागि सधैँ शतप्रतिशत योगदान दिएको उनको भनाइ छ।
यसअघिको चोटमा एन्फा नेतृत्वले सम्पूर्ण व्यवस्थापन गर्दा आफूले छिटो पुनरागमन गरेको स्मरण गर्दै उनले यस पटक अभिभावक संस्थाबाटै साथ नपाइएको दुखेसो पोखेकी छन्। यद्यपि, यो चोटले शारीरिक र मानसिक रूपमा थकाए पनि आफू नहारेको बताउँदै आवश्यक आर्थिक सहयोग जुटेपछि नेपालको जर्सी लगाएर पुनः मैदान फर्कने दृढता उनले व्यक्त गरेकी छन्।
फागुन ११, २०८२ सोमबार १९:१९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।