वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

पर्सा : पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले साेमबार बिहान पाैने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू आदेश जारी गरेका हुन्।

आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा विवाद हुँदा झडप भएकाे थियाे। यसले दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्काे आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यू आदेश गरिएको बताए।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियानदी, उत्तरमा गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कर्फ्यु लगाएको छ।

यस अवधिमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न प्रशासनले अनुरोध गरेको छ।

कर्फ्यूआदेश अवधिभरमा अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारीसाधन, कूटनीतिक नियोग र मानवअधिकारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने प्रशासनले जनाएको छ।

फागुन ११, २०८२ सोमबार ११:३७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।