२०२३ पछि आईसीसी इभेन्टमा पहिलोपटक भारतले हार्दा बनेका सात रेकर्ड

२०२३ पछि आईसीसी इभेन्टमा पहिलोपटक भारतले हार्दा बनेका सात रेकर्ड

एजेन्सी : अहमदाबादमा भएको टी-२० विश्वकपको ‘सुपर-८’ खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

यस हारसँगै भारतको लगातार १२ टी-२० खेल जित्ने सिलसिलामा ब्रेक लागेको छ। रनको अन्तरलाई हेर्दा यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको दोस्रो सबैभन्दा ठूलो हार हो।

यस खेलमा उत्कृष्ट लयमा रहेका जसप्रीत बुमराहले ३ विकेट लिँदै टी-२० विश्वकपमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने कीर्तिमान आफ्नो नाममा गरेका छन्।

उता दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले विष्फोटक ब्याटिङ गर्दै २६ बलमै अर्धशतक प्रहार गरेर जम्मा ६३ रन बनाए।

भारत र दक्षिण अफ्रिकाबीचको खेलमा केही रेकर्डहरू पनि बनेका छन्। यस्ता छन् यो खेलमा बनेका सात रेकर्ड:

१. टी-२० विश्वकपमा भारतको अहिलेसम्मकै ठूलो हार
टी-२० विश्वकपको इतिहासमा भारतले सबैभन्दा ठूलो हार व्यहोरेको छ।

यसअघि भारत सन् २०१० मा अष्ट्रेलियासँग ४९ रन र २०१६ मा न्युजिल्यान्डसँग ४७ रनले पराजित भएको थियो। समग्र टी-२० अन्तर्राष्ट्रिय खेलमा भने यो भारतको दोस्रो ठूलो हार हो। सबैभन्दा ठूलो हार सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध (८० रन) व्यहोरेको थियो।

२. विश्वकपमा भारतको तेस्रो कम स्कोर
दक्षिण अफ्रिकाविरुद्ध १११ रनमै अलआउट हुनु टी-२० विश्वकपमा भारतको तेस्रो सबैभन्दा कम स्कोर हो। यसअघि सन् २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ रन र सन् २०२१ मा न्युजिल्यान्डविरुद्ध नै ११०/७ रन बनाएको थियो।

३. सन् २०२३ पछि आईसीसी इभेन्टमा पहिलो हार
सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग हारेयता भारत आईसीसीका प्रतियोगिताहरूमा लगातार १८ खेलसम्म अपराजित थियो।

अहमदाबादको यो हारसँगै उक्त रेकर्ड तोडिएको छ। त्यस्तै, टी-२० विश्वकपमा पनि लगातार १२ खेल जितेपछि भारतले पहिलो पटक हार व्यहोरेको हो।

४. बुमराह बने विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय बलर
जसप्रीत बुमराह टी-२० विश्वकप इतिहासमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्।

बुमराहले जम्मा ३३ विकेट लिँदै अर्शदीप सिंह र रविचन्द्रन आश्विन (दुवैको ३२ विकेट) लाई पछि पारेका हुन्। यस सूचीमा हार्दिक पाण्ड्या (२९ विकेट) चौथो र रवीन्द्र जडेजा (२२ विकेट) पाँचौं स्थानमा छन्।

५. वरुण चक्रवर्तीको लगातार विकेट लिने रेकर्ड
स्पिनर वरुण चक्रवर्तीले टी-२० अन्तर्राष्ट्रियका लगातार १८ इनिङ्स (पारि) मा विकेट लिएर भारतका लागि नयाँ कीर्तिमान बनाएका छन्। उनले अर्शदीप सिंह (लगातार १७ पारि) को रेकर्ड तोडेका हुन्।

६. मिलरद्वारा भारतविरुद्ध सर्वाधिक छक्का प्रहार
दक्षिण अफ्रिकाका डेभिड मिलर टी-२० अन्तर्राष्ट्रियमा भारतविरुद्ध सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। उनले २६ पारिमा ३९ छक्का प्रहार गर्दै अष्ट्रेलियाका ग्लेन म्याक्सवेल (३८ छक्का) लाई पछि पारेका हुन्।

७. मिलरको २६ बलमै अर्धशतक
डेभिड मिलरले २६ बलमै अर्धशतक पूरा गर्दै भारतविरुद्ध चौथो छिटो टी-२० अर्धशतक प्रहार गरे। यसअघि भारतविरुद्ध लिटन दास (२१ बल), हेनरिक क्लासेन (२३ बल) र ट्र्याभिस हेड (२४ बल) ले छिटो अर्धशतक बनाएका थिए।

रोचक कुरा के छ भने, अघिल्ला तीनवटै छिटो अर्धशतक बनेको खेलमा भारतले जितेको थियो तर मिलरले अर्धशतक प्रहार गरेको यो खेलमा भने भारत पराजित हुन पुग्यो।

फागुन ११, २०८२ सोमबार ०९:५४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।