अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणबारे बोल्यो भारत

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणबारे बोल्यो भारत

एजेन्सी : भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

यस विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक औपचारिक विज्ञप्ति जारी गर्दै भारतको धारणा सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘भारत अफगान क्षेत्रमा भएको पाकिस्तानी हवाई आक्रमणको कडा निन्दा गर्दछ। यस आक्रमणका कारण पवित्र रमजान महिनाको समयमा महिला र बालबालिकासहित निहत्था सर्वसाधारणले ज्यान गुमाउनु परेको छ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता जायसवालले यस घटनालाई पाकिस्तानको आन्तरिक कमजोरी लुकाउने खेलको संज्ञा दिएका छन्।

उनले भनेका छन्, ‘यो पाकिस्तानले आफ्नो आन्तरिक विफलताको दोष अरुमाथि थोपर्ने अर्को एउटा प्रयास मात्र हो। भारत अफगानिस्तानको सम्प्रभुता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो समर्थन पुनः दोहोर्याउँछ।’

पाकिस्तानले गत शनिबार अफगान सीमा क्षेत्रमा रहेका 'सातवटा आतंकवादी शिविर' लाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको थियो।

पाकिस्तानी आक्रमणपश्चात अफगानिस्तानको तालिबान सरकारको रक्षा मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ। तालिबान सरकारले आफूमाथि भएको यस आक्रमणको उचित समयमा जवाफ दिने चेतावनी समेत दिएको छ।

फागुन ११, २०८२ सोमबार ०७:४३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।