'घण्टी' बजाउँदै नहिँड्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूले चुनावी प्रचारप्रसारमा चुनावी चिन्ह घण्टी बजाउँदै हिँडिरहेको देखिन्छ। पार्टीका शीर्ष नेताहरूदेखि उम्मेदवारहरूले प्रचारका क्रममा हातमा घण्टी बोकिरहेक छन्।
राजनीतिक दलहरूले पनि निर्वाचन आचारसंहिता कार्यान्वयनमा समान व्यवहार गर्न र इमान्दारिताका साथ पालना गराउन आयोगको ध्यानाकर्षण गराएका थिए। सार्वजनिक रूपमै आचारसंहिता कार्यान्वयनको विषयमा प्रश्न उठेपछि आयोगले निर्वाचन चिह्नको भौतिक स्वरूप बोकेर नहिँड्न आग्रह गरेको हो।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार, राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसारका लागि कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका सामग्रीहरू तोकिएको मापदण्डभित्र रही प्रयोग गर्न सक्नेछन्। तर, धातु, काठ वा अन्य यस्तै प्रकृतिका सामग्रीबाट बनेका भौतिक चिह्नहरू प्रदर्शन गर्न पाइने छैन।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ (१) तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा व्यवस्था भएबमोजिम दलको झण्डा र चुनाव चिह्नको मापदण्ड पालना गर्न दल तथा उम्मेदवारहरूलाई स्मरण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, "तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने ब्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ।"

फागुन १०, २०८२ आइतबार २०:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।