मानव-हात्ती द्वन्द्व रोक्न थाइल्याण्डको नयाँ अस्त्र, जंगली हात्तीलाई प्रजनन् रोक्ने खोप

मानव-हात्ती द्वन्द्व रोक्न थाइल्याण्डको नयाँ अस्त्र, जंगली हात्तीलाई प्रजनन् रोक्ने खोप
फाइल तस्बिर

एजेन्सी : थाइल्याण्डमा मानव-हात्ती द्वन्द्व बढ्न थालेपछि जंगली हात्तीको संख्या नियन्त्रणको नयाँ उपाय अपनाइएको छ। त्यहाँका अधिकारीहरूले जंगली हात्तीमा पहिलोपटक जन्मदर नियन्त्रण (बर्थ कन्ट्रोल) खोप प्रयोग गर्दैछन्।

खेतीयोग्य जमिन विस्तारका लागि जंगल फँडानी बढेसँगै हात्तीहरूको प्राकृतिक बासस्थान घट्दैछ। खानाको खोजीमा हात्तीहरू बस्ती र खेतबारीतर्फ पस्न थालेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको छ। 

सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र थाइल्याण्डमा जंगली हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु भएको थियो भने २९ जना घाइते भएका थिए। साथै हात्तीले खेतबारीमा पसेर बाली नष्ट गरेका दुई हजारभन्दा बढी उजुरी दर्ता भएका छन्।

वन्यजन्तु संरक्षण कार्यालयका निर्देशक सुखी बुनसाङका अनुसार बस्ती नजिक बस्ने हात्तीको संख्या बढ्न थालेपछि द्वन्द्वको जोखिम पनि बढेको छ। त्यसैले हात्तीको जनसंख्या व्यवस्थापन आवश्यक रहेको उनको भनाई छ।

थाइल्याण्डले यसका लागि अमेरिकामा बनेका २५ डोज खोप ल्याएर परीक्षण सुरु गरेको छ। यसको प्रभावकारिता बुझ्न दुई वर्षसम्म सातवटा घरमा पालेका हात्तीमा परीक्षण गरिएकोमा नतिजा सकारात्मक देखिएको अधिकारीहरूले जनाएका छन्।

थाइल्याण्डमा मानव-हात्ती द्वन्द्व नियन्त्रण गर्न जंगली हात्तीमा 'बर्थ कन्ट्रोल' खोप प्रयोग गर्ने अभियान विस्तार गरिएको छ। खोपले हात्तीको प्रजनन् प्रक्रियामा असर नगरी गर्भधारण हुनबाट मात्र राेक्ने अधिकारीहरूको दाबी छ। 

खाेपले सात वर्षसम्म काम गर्नेछ। यसपछि बुस्टर डोज नदिएमा हात्तीहरू पुनः गर्भधारण गर्न सक्नेछन्। खोप लगाइएका हात्तीहरूलाई सात वर्षसम्म विशेषज्ञ टोलीले निरन्तर निगरानीमा राख्ने जनाएको छ।

जनवरीको अन्त्यमा पूर्वी ट्राट प्रान्तका तीनवटा जंगली हात्तीहरूलाई यो खोप लगाइएको छ भने बाँकी १५ डोज खोप कुन क्षेत्रका हात्तीलाई दिने भन्नेबारे अधिकारीहरूले तयारी गरिरहेकाे छन्।

अधिकारीहरूका अनुसार द्वन्द्व बढी हुने क्षेत्रमा जंगली हात्तीको वार्षिक जन्मदर करिब ८.२ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ३.५ प्रतिशतभन्दा दोब्बर बढी हो। करिब चार हजार ४०० जंगली हात्तीमध्ये झण्डै ८०० हात्ती यस्ता जोखिमयुक्त क्षेत्रमा छन्।

अधिकारीहरूका अनुसार खोप अभियान केवल मानव-हात्ती द्वन्द्व बढी भएका क्षेत्रमा रहेका जंगली हात्तीमा मात्र लागू गरिएको हो। द्वन्द्व घटाउन जंगलभित्र पानी र खाद्यान्नको व्यवस्था, सुरक्षात्मक बार निर्माण र बस्तीमा पसेका हात्तीलाई पुनः जंगलतर्फ फर्काउने उपाय समेत अपनाइएको छ।

यद्यपि, यस अभियानकाे समेत आलोचना भइरहेकाे छ। कतिपय संरक्षणकर्मीहरूले यस्तो खोप प्रयोगले हात्ती संरक्षणकाे दीर्घकालीन प्रयासहरूलाई असर गर्न सक्नेप्रति चिन्ता व्यक्त गरेका छन्।

हालै उत्तर-पूर्वी खोन केन प्रान्तमा बस्तीमा दुख दिने हात्तीहरूलाई स्थानान्तरण गर्ने क्रममा एक हात्तीको मृत्यु भएपछि सार्वजनिक रूपमा यसकाे ठूलो विरोध भएको थियो।

बेहोस बनाउने औषधि (एनेस्थेसिया) दिएपछि श्वासप्रश्वास बन्द भएर उक्त हात्तीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। राष्ट्रिय निकुञ्ज विभागले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता दुर्घटना हुन नदिन छानबिन भइरहेको बताएका छन्।

अधिकारीहरूका अनुसार यो प्रयास सफल भए मानव-वन्यजन्तु द्वन्द्व घटाउने दीर्घकालीन समाधान बन्न सक्ने अपेक्षा छ। थाइल्याण्डमा हात्तीलाई राष्ट्रिय पहिचानको महत्वपूर्ण प्रतीक मानिन्छ। वर्षाैदेखि खेतीपाती तथा यातायातमा समेत हात्ती प्रयोग हुँदै आएको छ।

फागुन १०, २०८२ आइतबार १८:०४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।