'सेल्फ-फ्युजिङ' प्रविधियुक्त जिलीको 'सर्ट ब्लेड' ब्याट्री नेपालमा

'सेल्फ-फ्युजिङ' प्रविधियुक्त जिलीको 'सर्ट ब्लेड' ब्याट्री नेपालमा

काठमाडौं : नेपालमा विद्युतीय सवारी साधन (ईभी) को बजार विस्तार भइरहेका बेला जिली अटो ग्रुपले आफ्नो नवीनतम ‘सर्ट ब्लेड’ ब्याट्री प्रविधि भित्र्याएको छ। 

नेपालका लागि आधिकारिक विक्रेता एलआरआर मोटर्सले जिलीको प्रिमियम ईभी एसयूभी ‘ईएक्स ५’ मार्फत यस प्रविधिलाई उपलब्ध गराएको छ।

जिलीको अनुसन्धान तथा विकास केन्द्रले विकास गरेको यो नयाँ पुस्ताको लिथियम आयरन फस्फेट ब्याट्रीमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको दाबी छ। 

अटोमोबाइल उद्योगमा सामान्यतया एकल सुई परीक्षण गर्ने गरिए पनि यस ब्याट्रीले एकै पटक आठ वटा ५ एमएमका फलामका किला घुसाउँदा समेत आगलागी वा विस्फोट नभई उच्च सुरक्षा मापदण्ड कायम गरेको कम्पनीको भनाई छ। यसमा प्रयोग गरिएको ‘सेल्फ-फ्युजिङ’ प्रविधिले दुर्घटनाका क्रममा हुन सक्ने थर्मल रनअवे र सर्ट सर्किटको जोखिमलाई न्यूनीकरण गर्दछ।

कम्पनीका अनुसार यो ब्याट्री तीन हजार ५०० चार्ज-डिस्चार्ज साइकल पूरा गर्न सक्षम छ। यसको आधारमा ब्याट्रीले करिब १० लाख किलोमिटर यात्रा तय गर्न सक्ने र औसत प्रयोगकर्ताका लागि ५० वर्षसम्म उपयोगी हुन सक्ने दाबी गरिएको छ। यसले ईभीको पुनः बिक्री मूल्य र ब्याट्री प्रतिस्थापनको चिन्तालाई कम गर्ने देखिन्छ।

नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रको चिसो तापक्रमलाई लक्षित गर्दै यो ब्याट्री माइनस ३० डिग्री सेल्सियसमा पनि ९० प्रतिशत क्षमता कायम राख्न सक्ने गरी डिजाइन गरिएको भनिन्छ। माइनस २५ डिग्रीको चरम चिसोमा समेत २० मिनेटमै ९० प्रतिशतसम्म चार्ज हुन सक्ने यसको क्षमताले भौगोलिक चुनौतीहरूलाई सम्बोधन गरेको छ।

जिली ईएक्स ५ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ, जसले ६.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। १०० किलोवाटको डिसी फास्ट चार्जर प्रयोग गर्दा २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ भने ११ किलोवाटको एसी चार्जरले करिब ६ घण्टामा पूर्ण चार्ज प्रदान गर्दछ।

एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठका अनुसार, नेपाली ग्राहकहरूले अचेल रेञ्जसँगै ब्याट्रीको सुरक्षा र दीर्घकालीन आयुलाई प्राथमिकता दिन थालेका छन्। कोबाल्ट र निकेल जस्ता दुर्लभ धातुको प्रयोग नगरिने भएकाले यो प्रविधि वातावरणीय र आर्थिक दृष्टिले समेत किफायती मानिएको छ।

नेपालमा आयात हुने कुल सवारी साधनमध्ये ७५ प्रतिशत हिस्सा ईभीले ओगटेको वर्तमान अवस्थामा, जिलीको यो नयाँ प्रविधिले सुरक्षा र टिकाउपनका लागि नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ। 

फागुन १०, २०८२ आइतबार १७:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।