निर्वाचनबारे भ्रम फैलाइएकोमा आयोगको आपत्ति : मतदानको मिति नसर्ने स्पष्टोक्ति

निर्वाचनबारे भ्रम फैलाइएकोमा आयोगको आपत्ति : मतदानको मिति नसर्ने स्पष्टोक्ति

काठमाडौं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनको मिति तोकिएपछि फैलाइएका संशय र हल्लाहरूको खण्डन गर्दै मतदान प्रक्रिया कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे।

भण्डारीले भने, "निर्वाचनको विकल्प निर्वाचन नै हो। केही कुण्ठित तत्त्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन्। २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ।"

निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आचारसंहिता र अनुशासनको पालना गर्नुपर्नेमा उनले जोड दिए। सबै दललाई आयोगले समान व्यवहार गर्ने बताउँदै उनले भने, "सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागी हुनुहोला। स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला।"

निर्वाचनको स्वच्छता कायम राख्न आयोगले ‘मत सर्वेक्षण’ मा पूर्ण प्रतिबन्ध लगाएको विषयलाई उनले पुनः स्पष्ट पारेका छन्। मतदान अघि गरिने सर्वेक्षणले मतदातालाई भ्रमित पार्ने उनको भनाइ छ। भण्डारीले चेतावनी दिँदै भने, "संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन। मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्न सक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ।"

उनले यस पटकको निर्वाचनमा युवाहरूको उल्लेख्य सहभागिता रहने तथ्याङ्क प्रस्तुत गरे। भण्डारीले भने, "यस पटक ९ देखि १० लाखसम्म युवा मतदान थपिएका छन्। युवाहरू पनि नयाँ जोस-जागर र उत्साह लिएका युवा छन्।"

फागुन १०, २०८२ आइतबार १५:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।