अफगानिस्तानका नयाँ क्रिकेट प्रशिक्षकका लागि ‘अफसिजन’मा पनि काबुलमै बस्नुपर्ने मुख्य शर्त
एजेन्सी : जोनाथन ट्रटले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) नयाँ प्रशिक्षकको खोजीको अन्तिम चरणमा पुगेको छ।
यसैबीच, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसीब खानले नयाँ प्रशिक्षक र सपोर्ट स्टाफले खेल नभएको समयमा अनिवार्य रूपमा अफगानिस्तानमै बसेर काम गर्नुपर्ने शर्त अघि सारेका छन्।
सीईओ नसीब खानले भने, ‘हामीले सम्झौतामै नयाँ प्रशिक्षकको कार्यस्थल अफगानिस्तान नै हुनेछ भन्ने शर्त स्पष्ट रूपमा राखेका छौँ। हामी चाहन्छौँ कि राष्ट्रिय टोलीका प्रशिक्षकले हाम्रो घरेलु क्रिकेट र युवा खेलाडीहरूलाई नजिकबाट नियालुन्।’
यसअघिका मुख्य प्रशिक्षक र अन्य विदेशी स्टाफहरू प्रतियोगिता वा सिरिज नभएको समयमा अफगानिस्तानमा बस्दैनथे। उनीहरू खेलको समयमा मात्र टोलीसँग जोडिन्थे।
बोर्डका अनुसार नयाँ प्रशिक्षकको दौडमा तीन जनाको नाम सर्टलिस्ट गरिएको छ। जसमा दुई जना दक्षिण अफ्रिकाका र एक जना एसियाका प्रशिक्षक रहेका छन्।
जोनाथन ट्रटले सन् २०२२ देखि अफगानिस्तान राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए। उनको प्रशिक्षणमा अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाइ हासिल गर्यो।
आईसीसी प्रतियोगिताहरूमा पाकिस्तान र अस्ट्रेलियाजस्ता बलिया टोलीहरूलाई हराउनु उनको ठूलो सफलता थियो। ट्रटकै नेतृत्वमा अफगानिस्तानले भर्खरै सम्पन्न सन् २०२४ को टी-२० विश्वकपमा ऐतिहासिक रूपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
सीईओ खानका अनुसार क्रिकेट बोर्ड चाहन्छ कि नयाँ प्रशिक्षकले पनि देशका घरेलु क्रिकेटका स्टार खेलाडीहरूमाथि नजिकबाट नजर राखुन् र अफ-सिजनमा राष्ट्रिय टोलीका कमजोरी सुधार्न काम गरुन्।
नयाँ प्रशिक्षक कहिले नियुक्त हुनेछन्?
नयाँ प्रशिक्षक खोज्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको खानले जानकारी दिएका छन्। टी-२० विश्वकप सकिएपछि श्रीलंकाविरुद्ध हुने एकदिवसीय (ओडीआई) सिरिजअघि नै नयाँ प्रशिक्षकको टुंगो लागिसक्नेछ।
एसीबी प्रमुखले सर्टलिस्टमा परेका तीनै जना प्रशिक्षकको अन्तर्वार्ता भइसकेको बताएका छन्। यद्यपि, सम्झौतामा हस्ताक्षर नभएसम्म उनीहरूको नाम सार्वजनिक गर्नु हतार हुने भन्दै नाम भने खुलाइएको छैन।
‘सम्झौता फाइनल भएपछि हामी श्रीलंका सिरिजअघि नै नयाँ हेड कोचको औपचारिक घोषणा गर्नेछौँ’, खानले भने।
फागुन १०, २०८२ आइतबार १३:२२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।