अफगानिस्तानमा पाकिस्तानले गर्यो हवाई आक्रमण, दुई देशबीच तनाव बढ्ने संकेत
एजेन्सी : पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो समय पाकिस्तानमा भएका घातक आतङ्ककारी आक्रमणको प्रतिक्रियास्वरूप आइतबार यो कारबाही गरिएको हो।
पाकिस्तानले हालै भएका श्रृंखलाबद्ध आक्रमणमा संलग्न आतंकवादी अड्डा र शिविरहरूलाई लक्षित गरेर आक्रमण गरेकाे बताएको छ। तर, अफगानिस्तानको तालिबान सरकारले भने उक्त आक्रमणमा विद्यालय र आवासीय घरहरू परेको र महिला तथा बालबालिकासहित दर्जनौँ निर्दोष नागरिककाे ज्यान गएकाे जनाएको छ।
अफगान रक्षा मन्त्रालयका अनुसार आइतबार नंगरहार र पक्तिका प्रान्तसँग सीमाना जोडिएको आफ्नो भूभागमा हवाई हमला गरेको हो। अफगान स्रोतका अनुसार नंगरहारमा मात्रै कम्तीमा १७ जनाको मृत्यु भएको छ। तालिबान रक्षा मन्त्रालयले धार्मिक विद्यालय र सर्वसाधारणको घरमा क्षति पुगेको पुष्टि गरेको छ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने गोप्य सूचनामा आधारित सातवटा ठाउँमा हमला गरेकाे जनाएको छ। हमला गरिएका ठाउँहरु पाकिस्तान तालिबान अर्थात् तेहरिक–ए–तालिबान पाकिस्तान र त्यसका सहयोगी समूहसँग सम्बन्धित रहेको दाबी गरिएको छ। सीमाक्षेत्रमा सक्रिय इस्लामिक स्टेट सम्बद्ध समूहलाई पनि लक्षित गरीएकाे मन्त्रालयको भनाइ छ।
हालै पाकिस्तानको राजधानी इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र सुरक्षा फौजमाथि भएका आक्रमणको योजना अफगान भू-भागमा बनेको पाकिस्तानको आरोप छ।
इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएकाे थियाे भने एक सय ७० जना घाइते भएका थिए। जसको जिम्मा इस्लामिक स्टेटले लिएको थियो। यस्तै, भर्खरै बाजौरमा भएको आत्मघाती आक्रमणमा ११ सैनिक र एक बालकको मृत्यु भएको थियो, जसमा संलग्न आक्रमणकारी अफगान नागरिक रहेको खुलेको छ।
पाकिस्तानले त्यस्ता संगठनहरूविरूद्ध कारबाही गर्न अफगानिस्तानलाई पनि आग्रह गरेको थियो। साथै ती संगठनहरुलाई अफगानी भूमि पाकिस्तानविरूद्ध प्रयोग हुन नदिन बारम्बार आग्रह गरिएको तर ठोस कदम नचालिएको आरोप लगाएको छ।
पाकिस्तानले इस्लामाबाद लगायतका घटनामा पनि ती संगठनहरूको संलग्नता रहेको पुष्टि हुने प्रमाणहरू रहेको भनेर दाबी गरेकाे छ।
तालिबान सरकारको रक्षा मन्त्रालयले भने अन्तर्राष्ट्रिय कानुन र असल छिमेकी सम्बन्ध उल्लंघन गर्दै हवाई आक्रमण गरेको आरोप लगाएको छ।
यो हवाई आक्रमणसँगै दुई दक्षिण एसियाली छिमेकीबीचको सम्बन्ध पुनः तनावपूर्ण बन्ने देखिएको छ। गत अक्टोबरमा कतारको मध्यस्थतामा भएको युद्धविराम पछि केही शान्त देखिएको सीमा क्षेत्र फेरि अशान्त बनेको छ।
फागुन १०, २०८२ आइतबार १२:१७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।