चरम दमनपछि इरानका विश्वविद्यालयहरूमा पहिलो पटक सरकारविरोधी प्रदर्शन, अमेरिकाद्वारा सैन्य कारबाहीको चेतावनी
एजेन्सी : इरानका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीहरूले सरकारविरोधी प्रदर्शन सुरू गरेका छन्। गत महिना सरकारी तवरबाट भएको चरम दमनपछिको यो पहिलो ठूलो प्रदर्शन हो।
विद्यार्थीहरूले जनवरीमा भएको विशाल प्रदर्शनमा मारिएका हजारौं व्यक्तिहरूको सम्झना गर्दै यो प्रदर्शन गरेका हुन्।
शनिबार नयाँ सेमेस्टरको सुरुवातसँगै राजधानी तेहरानस्थित सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीको क्याम्पसमा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा प्रदर्शनकारीहरू अघि बढेका छन्।
भिडिओमा विद्यार्थीहरूले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई लक्षित गर्दै ‘तानाशाहलाई मृत्यु’ र अन्य सरकारविरोधी नारा लगाएको सुन्न सकिन्छ। पछि प्रदर्शनकारी र सरकार समर्थकहरूबीच झडपसमेत भएको थियो।
तेहरानकै ‘शहीद बेहेस्ती विश्वविद्यालय’मा शान्तिपूर्ण धर्ना दिइएको छ भने ‘अमिर कबिर विश्वविद्यालय’मा पनि सरकारविरोधी नाराबाजी भएको प्रमाणित भिडिओहरू सार्वजनिक भएका छन्।
त्यसैगरी, इरानको उत्तर-पूर्वी तथा दोस्रो ठूलो सहर मसहदमा विद्यार्थीहरूले ‘स्वतन्त्रता, स्वतन्त्रता’ र ‘विद्यार्थी हो, आफ्नो अधिकारका लागि आवाज उठाऊ’ भन्दै प्रदर्शन गरेका छन्।
दिनभर अन्य विभिन्न स्थानहरूमा पनि उल्लेख्य प्रदर्शन भएका छन् भने आइतबारका लागि थप र्यालीको आह्वान गरिएको छ। हालसम्म कुनै प्रदर्शनकारी पक्राउ परे/नपरेको स्पष्ट हुन सकेको छैन।
गत महिना आर्थिक गुनासोबाट सुरू भएको प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सबैभन्दा ठूलो बनेको थियो।
अमेरिकास्थित मानव अधिकारवादी संस्था ‘ह्राना’का अनुसार उक्त प्रदर्शनका क्रममा ५ हजार ८०४ प्रदर्शनकारी, ९२ बालबालिका र २१४ सरकारसम्बद्ध व्यक्ति गरी कम्तीमा ६ हजार १५९ जना मारिएको पुष्टि भएको छ। संस्थाले थप १७ हजार जनाको मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएको छ।
यद्यपि, इरानी अधिकारीहरूले भने ३ हजार १०० भन्दा बढी मारिएको र तीमध्ये अधिकांश ‘दंगाकारी’को आक्रमणमा परेका सुरक्षाकर्मी वा सर्वसाधारण रहेको दाबी गरेका छन्।
अमेरिकी आक्रमणको सम्भावना र चेतावनी
एकातिर इरानभित्रै प्रदर्शन भइरहेको छ भने अर्कोतर्फ अमेरिकाले इराननजिक आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सीमित सैन्य आक्रमणको विकल्पमा विचार गरिरहेको बताएका छन्।
अमेरिका र युरोपेली राष्ट्रहरूले इरानले आणविक हतियार विकास गरिरहेको आशंका गरेका छन्, जसलाई इरानले निरन्तर अस्वीकार गर्दै आएको छ।
मंगलबार स्विट्जरल्याण्डमा अमेरिका र इरानी अधिकारीहरूबीच भएको भेटवार्तामा इरानको आणविक कार्यक्रम नियन्त्रण गर्ने विषयमा प्रगति भएको बताइएको थियो।
यद्यपि, राष्ट्रपति ट्रम्पले आगामी करिब १० दिनभित्र इरानसँग सम्झौता हुने वा अमेरिकाले सैन्य कारबाही गर्ने भन्ने कुरा विश्वले थाहा पाउने चेतावनी दिएका छन्।
विगतमा पनि ट्रम्पले ‘सहयोग आउँदैछ’ भन्दै इरानी प्रदर्शनकारीहरूलाई प्रोत्साहन गर्दै आएका थिए।
विभाजित विपक्षी र भ्रामक सूचनाको लडाइँ
इरानी अधिकारीहरू अमेरिकासँग सम्भावित युद्धको तयारी गरिरहेका बेला यी प्रदर्शनहरू भएका हुन्।
निर्वासनमा रहेको इरानी विपक्षी समूहले वर्तमान कट्टरपन्थी सरकारको पतनको आशा गर्दै ट्रम्पलाई आफ्नो चेतावनीअनुरूप आक्रमण गर्न आग्रह गरिरहेको छ । तर, अन्य विपक्षी समूहहरू भने बाह्य हस्तक्षेपको विपक्षमा छन्।
यसैबीच, इरानी जनताले वास्तवमा के चाहन्छन् भन्ने विषयमा आ-आफ्नो भाष्य निर्माण गर्न दुवै पक्षले सामाजिक सञ्जालमा भ्रामक सूचनाको व्यापक अभियान चलाइरहेका छन्।
फागुन १०, २०८२ आइतबार १०:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।