बनेपामा टिपरमा आगजनी गरेको आरोपमा १३ जना पक्राउ

बनेपामा टिपरमा आगजनी गरेको आरोपमा १३ जना पक्राउ

काठमाडाैं : काभ्रेको बनेपामा सवारी दुर्घटनापछि टिपरमा आगजनी तथा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत बुधबार बिहान बनेपा बजारस्थित चाँदनी चोकमा भएको दुर्घटनापछि आक्रोशित समूहले प्रहरी टोलीमाथि ढुंगा प्रहार गर्नुका साथै दुर्घटनामा संलग्न टिपरमा आगजनी गरेका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बा.प्र. ०१–००४ क ३४२३ नम्बरको टिपरले बा.प्र. ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीय ओमन प्रधान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित भीडले घटनास्थलमा तनाव सिर्जना गर्दै प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै टिपरमा आगजनी गरी क्षति पुर्याएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २६ वर्षीय विदुर बुढाथोकी, ३२ वर्षीय राम बहादुर माझी, २३ वर्षीय विकाश राय, २२ वर्षीया रेनुशा मोक्तान, ३२ वर्षीय श्याम मानन्धर, २९ वर्षीया कविता रसाईली, २५ वर्षीय सरोज पराजुली छन् ।

यस्तै, २१ वर्षीय रवि थापा, २८ वर्षीय नवीन तामाङ, ४० वर्षीय उमेश खत्री, २१ वर्षीय सिजन श्रेष्ठ, १९ वर्षीय सुदर्शन तिमिल्सिना र बारा घर बताउने ३९ वर्षीय नगेन्द्र शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालतबाट फागुन ६ गतेबाटै लागु हुने गरी दिन ७ को म्याद अनुमती लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फागुन ९, २०८२ शनिबार १८:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।