दुई समुदायबिच झडप नरोकिएपछि गौरमा कर्फ्यु
राैतहट : राैतहटको सदरमुकाम क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनका अनुसार मस्जिदमा प्रार्थना भइरहेको समयमा हिन्दू समुदायले जन्तीकाे बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि शुक्रबार बिहानदेखि गौर क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर तथा अश्रुग्यास प्रहार गरेको थियाे। स्थिति थप असामान्य बन्दै गएपछि शनिबार कर्फ्यू जारी गरिएको जनाइएको छ।
पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
कर्फ्यू अवधिभर कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला, जुलुस, सभा–प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
झडपका क्रममा प्रदर्शनकारीले केही सवारीसाधनमा आगजनी गर्नुका साथै घरमा तोडफोड गरेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना परिचालन गरिएको प्रशासनले जनाएको छ।
फागुन ९, २०८२ शनिबार १३:३३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।