१० वर्षीय बालकको खुट्टा काटेर ज्यान जोगाउँदाको क्षण अझै भुल्न नसकेका हाडजोर्नी विशेषज्ञ डा. राजिव

१० वर्षीय बालकको खुट्टा काटेर ज्यान जोगाउँदाको क्षण अझै भुल्न नसकेका हाडजोर्नी विशेषज्ञ डा. राजिव

एउटा चिकित्सकका लागि बिरामीको ज्यान बचाउनु जति खुसीको कुरा हुन्छ, कहिलेकाहीँ ज्यान जोगाउनकै लागि शरीरको अङ्ग काट्नुपर्ने बाध्यता त्यति नै पीडादायी हुन्छ।

हाडजोर्नी रोग विशेषज्ञ डा. राजिव बास्तोलाले आफ्नो पेशागत जीवनमा यस्तै थुप्रै उतारचढाव भोगेका छन्।

सयौं बिरामीको भाँचिएका हड्डी जोडेर मुहारमा खुसी फर्काएका डा. राजिवसँग उपचारका क्रममा भोगेका कतिपय घटना भने उनको मानसपटलमा अझै ताजै छन्।

चिकित्सकीय पेशा सिलसिलामा देखे-भोगेका यस्तै केही अविस्मरणीय प्रसङ्ग डा. राजिवले उकेरासँग यसरी साटेका छन्:

१० वर्षीय बालकको क्यान्सरग्रस्त खुट्टा काटेर ज्यान बचाउँदा...
अपरेसन थिएटरभित्र डाक्टरहरू केवल शरीरको उपचार मात्र गर्दैनन्, कहिलेकाहीँ आफ्नै भावनासँग पनि जुध्छन्।

भरतपुर क्यान्सर अस्पतालमा काम गर्दा उपचारका लागि आएका एक दश वर्षीय बालकको क्यान्सरग्रस्त खुट्टा काटेर ज्यान जोगाउँदाको प्रसङ्ग उनको मानसपटलमा आज पनि ताजै छन्।

वि.सं. २०७८ तिर लुम्बिनी मेडिकल कलेजमा हाडजोर्नी (अर्थोपेडिक सर्जरी) विषयमा ‘एमएस’ अध्ययनरत उनी ‘क्लिनिकल पोस्टिङ’का क्रममा भरतपुर क्यान्सर अस्पताल पुगेका थिए।

त्यही बेला करिब १० वर्षका एक बालकलाई अस्पताल ल्याइयो। परीक्षणका क्रममा ती बालकको खुट्टाको हड्डीमा जटिल किसिमको क्यान्सर (ट्युमर) भएको पुष्टि भयो। 

शल्यक्रिया गरी खुट्टा नकाटेको खण्डमा क्यान्सर शरीरभरि फैलिएर बालकको ज्यानै जाने जोखिम थियो। तर, बालकको पारिवारिक र आर्थिक अवस्था अत्यन्तै कमजोर थियो।

आर्थिक अभावकै कारण परिवारले उपचार नै नगरी फर्किने मनस्थिति समेत बनाइसकेको थियो। तर, खुट्टा काटेर फाल्दा बालकको ज्यान जोगिनेमा चिकित्सकहरू विश्वस्त थिए। ज्यानै जाने जोखिम रहेको बुझाएपछि बल्लबल्ल बालकका बुवाआमा शल्यक्रियाका लागि राजी भए।

आवश्यक खर्चको जोहो गरेपछि शल्यक्रियाको तयारी थालियो। वरिष्ठ शल्यचिकित्सकको नेतृत्वमा रहेको उक्त टोलीमा डा. राजिव पनि आवासीय (रेजिडेन्ट) चिकित्सकका रूपमा खटिएका थिए। टोलीले क्यान्सरग्रस्त खुट्टा काटेर फाल्यो। बालकको खुट्टा त जोगिएन, तर अमूल्य जीवन भने जोगियो।

सफल शल्यक्रियापछि पोस्ट-अपरेटिभ वार्ड हुँदै जनरल वार्डमा सारिएका ती बालक केही समयको उपचारपछि डिस्चार्ज भएर घर फर्किए। मृत्युको मुखमै पुगिसकेका बालकलाई बचाउन सफल भएको त्यो क्षण डा. राजिवको मन अझै फुरुङ्ग हुन्छ।

कोरोना सङ्क्रमित युवाको जोखिमपूर्ण शल्यक्रिया
कोभिड-१९ महामारीको चरम त्रासका बेला लुम्बिनी मेडिकल कलेजमै काम गर्दाको अर्को एउटा घटना पनि उनलाई सधैँ याद आउँछ।

सवारी दुर्घटनामा परी खुट्टाको हड्डी भाँचिएका करिब ३२ वर्षीय एक युवालाई अस्पताल ल्याइएको थियो। उनको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था थियो, तर स्वास्थ्य परीक्षणका क्रममा उनमा कोरोना सङ्क्रमण पुष्टि भयो।

त्यतिबेला कोरोना सङ्क्रमितको नजिक पर्नै डराउनुपर्ने अवस्थामा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने ठूलो दुविधा उत्पन्न भयो। तर, शल्यक्रिया नगरे ती युवाले सदाका लागि खुट्टा गुमाउने जोखिम थियो। त्यसैले, जस्तोसुकै जोखिम मोलेर भए पनि उनको खुट्टा बचाउने निर्णयमा चिकित्सक टोली पुग्यो।

आवश्यक सुरक्षा मापदण्ड (पीपीई लगायत) अपनाएर युवालाई अपरेसन थिएटरमा लगियो। वरिष्ठ चिकित्सकहरूसँगै डा. राजिव पनि उक्त शल्यक्रियामा संलग्न थिए। युवाको भाँचिएको खुट्टा सफलतापूर्वक जोडियो र केही दिनको उपचारपछि उनी निको भएर घर फर्किए।

सङ्क्रमणको उच्च जोखिम मोलेर गरिएको त्यो सफल उपचार डा. राजिवका लागि एउटा गर्विलो अनुभव बनेको छ।

यी त बिरामीलाई बचाउन सफल भएका सुखद प्रसङ्ग भए। विगतमा जलन (बर्न) विभागमा काम गर्दा आगोले जलेर गम्भीर घाइते भएका बालबालिकालाई बचाउन नसक्दाका कहालीलाग्दा क्षण पनि उनको मानसपटलमा ताजै छन्।

अथक प्रयास गर्दागर्दै पनि बिरामीको ज्यान जाँदा एउटा चिकित्सकको मन पनि नराम्ररी कटक्क खान्छ। तर, जतिसुकै कोसिस गरे पनि कहिलेकाहीँ नियतिको अगाडि चिकित्सकको केही लाग्दैन भन्ने यथार्थ उनले बुझेका छन्।

खोटाङमा जन्म, बङ्गलादेशबाट एमबीबीएस
वि.सं. २०४७ सालमा खोटाङको तत्कालीन बुइपा गाविस र हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जन्मिएका राजिव सानै छँदा परिवारसँगै मोरङको विराटनगर बसाइँ सरे।

सरकारी जागिरे बुवाका कारण घरमा पढाइको राम्रो माहोल थियो। अध्ययनमा निकै रुचि राख्ने उनले २०६३ सालमा विराटनगरकै सेन्ट जोसेफ स्कुलबाट अब्बल अङ्कका साथ एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौँ आएर ललितपुरको प्रसादी एकेडेमीबाट प्लस-टु पूरा गरे।

सानैदेखि डाक्टर बन्ने सपना बुनेका राजिवले प्रवेश परीक्षा उत्तीर्ण गरेपछि सन् २००९ (वि.सं. २०६६) मा बङ्गलादेशको ढाका युनिभर्सिटीबाट एमबीबीएस अध्ययन सुरु गरे। सुरुवाती दिनमा त्यहाँको भाषा, रहनसहन र जीवनशैलीसँग घुलमिल हुन निकै सङ्घर्ष गर्नुपरे पनि बिस्तारै उनी अभ्यस्त हुँदै गए।

सन् २०१५ मा एमबीबीएसको अध्ययन पूरा गरेर उनी स्वदेश फर्किए। नेपाल फर्किएलगत्तै उनले काठमाडौं मोडल अस्पतालको हाडजोर्नी विभागमा करिब दुई वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे। यसबीचमा अन्य निजी अस्पतालहरूमा पनि अनुभव बटुले।

हाडजोर्नीमै विशेषज्ञताको हुटहुटी
काममै सिलसिलामा डा. राजिवलाई हाडजोर्नी क्षेत्रमै विशेषज्ञता हासिल गर्ने हुटहुटी जाग्यो। स्नातकोत्तर तह (एमएस) को प्रवेश परीक्षामा नाम निकालेर उनी वि.सं. २०७८ मा काठमाडौं विश्वविद्यालयअन्तर्गत पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा ‘अर्थोपेडिक सर्जरी’ पढ्न थाले।

अध्ययन र बिरामीको उपचारकै क्रममा उनी आफैँ पनि दुई पटक कोभिड-१९ बाट सङ्क्रमित भई आइसोलेसनमा बस्नुपर्यो। तर, कोरोनालाई जितेर उनले २०८१ सालमा आफ्नो ‘एमएस’ अध्ययन सफलतापूर्वक सम्पन्न गरे।

विशेषज्ञता हासिल गरेसँगै विगत एक वर्षयता डा. राजिव भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा सञ्चालित ‘सूर्यविनायक नगर अस्पताल’मा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत छन्। हाल भक्तपुरमै बस्दै आएका उनी विदेशिने मोहलाई त्यागेर स्वदेशमै बिरामीको सेवा गर्न पाउँदा सन्तुष्ट छन्।

शरीरका विभिन्न भागमा लागेका चोटपटक र भाँचिएका हड्डीको शल्यक्रिया गर्नु, स्पाइनल (ढाड) को समस्या समाधान गर्नु र घुँडाको जोर्नी प्रत्यारोपण (नी रिप्लेसमेन्ट) जस्ता जटिल उपचारमार्फत बिरामीलाई पीडामुक्त बनाउनु नै अहिले डा. राजिवको मुख्य दैनिकी हो।

सामान्य फ्याक्चरदेखि जटिल शल्यक्रियासम्मको जिम्मेवारी सम्हाल्दै उनी बिरामीको मुहारमा खुसी फर्काउने अभियानमा निरन्तर समर्पित छन्।

फागुन ९, २०८२ शनिबार ११:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।