मध्यरातमा भोटेकोशीमा बोलेरो दुर्घटना : एक युवकको मृत्यु, तीन जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ स्थित अरनिको राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।
मध्यरातको साढे १२ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च. ३४८० नम्बरको बोलेरो जिप सडक छेउमा पार्किङ गरी राखिएको कन्टेनरको डिब्बा (अगाडिको इन्जिन नभएको टेलर) मा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा बाह्रबिसे नगरपालिका-२, दुरुमथलीका अन्दाजी २१ वर्षीय सुजन तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि राति १:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
बोलेरोमा सवार सबै ७ जना बाह्रबिसे-२, दुरुमथलीकै बासिन्दा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा जिप चालक २३ वर्षीय काजी शेर्पा, २० वर्षीय विशाल तामाङ र १८ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन्।
उनीहरूको टाउको, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ भने उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी विवरणमा उल्लेख छ।
यसैगरी, दुर्घटनामा सोही ठाउँका २२ वर्षीय पाल्देन शेर्पा, २२ वर्षीय तेम्बा शेर्पा र १८ वर्षीया सलिना शेर्पा घाइते भएका छन्। उनीहरूको अवस्था भने सामान्य रहेको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलबाट करिब ५ किलोमिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा ७ जनाको ट्राफिकसहितको टोली उद्धारका लागि खटिएको थियो।
घाइतेहरूलाई तत्काल उद्धार गरी भोटेकोशी-३ स्थित धुलिखेल अस्पतालको हिन्दी शाखामा पुर्याइएको थियो।
त्यहाँ प्राथमिक उपचारपश्चात् अवस्था गम्भीर रहेका चालकसहित सबै ६ जना घाइतेलाई राति २ बजेदेखि २:५० बजेको समयमा थप उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
फागुन ९, २०८२ शनिबार ०९:२०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।