काठमाडौं क्यान्सर सेन्टरद्वारा वीरगन्जमा चिकित्सक अन्तरक्रिया

काठमाडौं क्यान्सर सेन्टरद्वारा वीरगन्जमा चिकित्सक अन्तरक्रिया

काठमाडौं : भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टर (केसीसी)ले वीरगन्जका चिकित्सकहरूका लागि एक विशेष अन्तरक्रिया गरेको छ।

वीरगन्जको क्लार्क्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रम ‘नेपालमा बहु-अनुशासनात्मक (मल्टीडिसिप्लिनरी) क्यान्सर उपचार सेवाको विकास’ विषयमा केन्द्रित थियो।

विशुद्ध प्राज्ञिक उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरले दिइरहेका सेवा र क्यान्सर उपचारका नयाँ अभ्यासहरूबारे छलफल गरिएको थियो।

कार्यक्रममा क्यान्सरको उपचार अब एउटा मात्र डाक्टरले नभई विशेषज्ञहरूको पूरै टोलीले गर्ने र त्यसलाई ट्युमर बोर्ड भनिनेबारे जानकारी दिइएको थियो।

बोर्डमा प्याथोलोजिस्ट, सर्जन, रेडियोथेरापिस्ट र क्लिनिकल अन्कोलोजिस्टहरू सँगै बसेर बिरामीको उपचार कसरी अगाडि बढाउने भनेर संयुक्त निर्णय गर्छन्। यसले गर्दा उपचारको नतिजा निकै प्रभावकारी हुने कार्यक्रममा सहभागी चिकित्सकहरूले जानकारी दिए।

५० शय्या क्षमताको काठमाडौं क्यान्सर सेन्टरले टाउको, घाँटी, र पेटको जटिल शल्यक्रिया (सर्जरी) देखि लिएर रेडियोथेरापी र क्लिनिकल अन्कोलोजी लगायतका सम्पूर्ण सेवाहरू एकै छानामुनि प्रदान गरिरहेको छ।

कार्यक्रममा सेन्टरका एकेडेमिक डाइरेक्टर डा. सुभाष पण्डित र अध्यक्ष डा. सिमित सापकोटाले नेपालमा क्यान्सर उपचारको अवस्थाबारे प्रकाश पारेका थिए। डा. सापकोटाले ‘नेपालमा क्यान्सरको अवस्था र भार’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए।

उनीहरूले १०-१५ वर्षअघि क्यान्सरको उपचार नहुने र बिरामीहरू भारत जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै, अहिले नेपालमै अत्याधुनिक प्रविधिसहितको सम्पूर्ण उपचार सम्भव रहेको बताए।

शुरुवाती चरणमै रोग पत्ता लागेमा क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने कुरामा जोड दिँदै, चिकित्सकहरूलाई क्यान्सरको शंका लाग्ने बित्तिकै बिरामीलाई विशेषज्ञ (अन्कोलोजिस्ट) कहाँ रिफर गर्न आग्रह गरिएको थियो। 

यसैबीच, सोही कार्यक्रमको अवसर पारेर क्यान्सर उपचार र बिरामीको सहजताका लागि काठमाडौं क्यान्सर सेन्टर र वीरगन्जको गण्डक हस्पिटल प्रालिबीच आपसी सहकार्य सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ।

फागुन ९, २०८२ शनिबार ०८:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।