इरानी नेतालाई दबाबमा राख्न केही सैन्य आक्रमण गर्ने अमेरिकाको चेतावनी

इरानी नेतालाई दबाबमा राख्न केही सैन्य आक्रमण गर्ने अमेरिकाको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम रोक्न र त्यहाँका नेताहरूलाई दबाब दिन आफूले सीमित सैन्य आक्रमणको विचार गरिरहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्। उनको यो भनाइ आउनुभन्दा केही घण्टा अघि मात्र अमेरिकी अधिकारीहरूले पनि इरानमाथि आक्रमण हुन सक्ने संकेत गरेका थिए।

यसअघि बिहीबार ट्रम्पले इरानसँग सम्झौता हुन्छ वा अमेरिकाले सैन्य कारबाही गर्छ भन्ने कुरा ‘संसारले सायद आगामी १० दिनभित्र’ थाहा पाउने बताएका थिए। पछिल्ला केही हप्तायता अमेरिकाले त्यस क्षेत्रमा आफ्नो सेना र हतियारको उपस्थिति पनि बढाएको छ।

अर्कोतर्फ, शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराक्चीले इरानले एउटा ‘सम्भावित सम्झौताको मस्यौदा (ड्राफ्ट)’ तयार गरिरहेको बताएका छन्। उनले उक्त मस्यौदा आउने केही दिनभित्रै अमेरिकी विशेष दूत स्टिभ विटकफलाई बुझाइने जानकारी दिए।

अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रहरूलाई इरानले लुकाएर परमाणु हतियार बनाइरहेको शंका छ। तर, इरानले भने आफूमाथि लागेको यो आरोपलाई सधैं अस्वीकार गर्दै आएको छ।

फागुन ९, २०८२ शनिबार ०८:४२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।