युवाहरू स्वदेशमै अवसर सिर्जना गर्नेतिर लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड
पोखरा : प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीलाई आर्जित ज्ञान र सीपको सदुपयोग गर्दै राष्ट्र निर्माणमा सक्रिय योगदान पुर्याउन आह्वान गरेकी छन्।
शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले दीक्षान्तलाई शैक्षिक यात्राको औपचारिक समापन मात्र नभई जीवनको नयाँ र महत्त्वपूर्ण प्रस्थानविन्दु भएको बताइन्। उनले उच्च शिक्षा हासिल गरेका युवाले व्यक्तिगत उन्नतिसँगै समाज र राष्ट्रको समुन्नतिमा समेत ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन्।
अध्ययन पूरा गरेलगत्तै ठूलो संख्यामा युवाहरू विदेशिनु चिन्ताको विषय भएको उल्लेख गर्दै कार्कीले स्वदेशमै अवसर सिर्जना गर्न विश्वविद्यालय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याइन्। उनले भनिन्, "मुलुकको विकासका लागि दक्ष, इमान्दार र जिम्मेवार जनशक्तिको खाँचो छ। यसका लागि पाठ्यक्रम र पठन पद्धतिलाई उद्यमशीलता, नवप्रवर्तन र आत्मनिर्भरतातर्फ उन्मुख गराउनु अपरिहार्य छ।"
बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी बन्न नवीन प्रविधिसँग अभ्यस्त हुन सुझाव दिँदै उनले विश्वविद्यालयले समयसापेक्ष र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने धारणा राखिन्। अनुशासन, परिश्रम र मानवीय मूल्यलाई दीर्घकालीन सफलताको आधार बताउँदै उनले दीक्षित विद्यार्थीलाई सकारात्मक सोच र निष्ठाका साथ अघि बढ्न आग्रह गरिन्।
कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन समेत युवालाई आह्वान गरिन्। दीक्षान्त समारोहमा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
फागुन ८, २०८२ शुक्रबार २१:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।