बलिउड अभिनेत्री काजोललाई कानुनी सुरक्षा, अदालतद्वारा अन्तरिम आदेश जारी

बलिउड अभिनेत्री काजोललाई कानुनी सुरक्षा, अदालतद्वारा अन्तरिम आदेश जारी

एजेन्सी : दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री काजोलको 'व्यक्तित्व अधिकार' (पर्सनालिटी राइट्स) संरक्षणका लागि अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश ज्योति सिंहको इजलासले अभिनेत्रीको अनुमतिबिना उनको नाम, तस्बिर, आवाज वा पहिचान व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न रोक लगाएको हो।

अदालतले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिपफेक प्रविधिको बढ्दो प्रयोगप्रति संवेदनशीलता देखाउँदै यसका माध्यमबाट हुनसक्ने व्यक्तित्व अधिकारको दुरुपयोग रोक्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा कुनै पनि डिजिटल सामग्रीमा उनको पहिचानको अनधिकृत प्रयोग हुन नदिन सचेत गराइएको छ।

साथै, अदालतले विभिन्न डिजिटल प्लेटफर्ममा अभिनेत्रीको विरुद्ध सम्प्रेषण गरिएका अश्लील एवं आपत्तिजनक सामग्रीहरू तत्काल हटाउन समेत निर्देशन दिएको छ।

यसअघि काजोलका पति एवं अभिनेता अजय देवगनले पनि आफ्नो व्यक्तित्व अधिकार रक्षाका लागि अदालतमा अपिल गरेका थिए। अदालतले उनको पक्षमा फैसला सुनाउँदै एआई-जेनेरेटेड डिपफेक भिडियो र अवैध साइटहरू हटाउन आदेश दिएको थियो।

व्यक्तित्व अधिकारका सम्बन्धमा दिल्ली उच्च अदालतले यसअघि नै अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, नागार्जुन, अनिल कपूर र अभिषेक बच्चन जस्ता कलाकारहरूलाई कानुनी सुरक्षा प्रदान गरिसकेको छ। त्यसैगरी, दक्षिण भारतीय अभिनेता पवन कल्याण, आर माधवन, जुनियर एनटिआर र पूर्व क्रिकेटर सुनिल गावस्करको हकमा पनि यस्तै संरक्षणमूलक आदेश जारी भइसकेका छन्।

फागुन ८, २०८२ शुक्रबार १६:०५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।