जय ट्रफी एलिट कप: पुलिस क्लब १८७ रनमा इनिङ्स समाप्त, पवन कार्कीको ४ विकेट

जय ट्रफी एलिट कप: पुलिस क्लब १८७ रनमा इनिङ्स समाप्त, पवन कार्कीको ४ विकेट

कीर्तिपुर : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी मल्टिडेज क्रिकेट जय ट्रफी पुरुष एलिट कपको पहिलो खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो इनिङ्स १८७ रनमा समाप्त (डिक्लियर) गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५३.३ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गरेको हो।

पुलिसको ब्याटिङ लाइनअपमा मध्यक्रमका ब्याटर रशिद खानले सर्वाधिक ३८ रनको योगदान दिए। उनले ५५ बल खेल्दै ४ चौका प्रहार गरे। कप्तान आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ६ चौकाको मद्दतले ३६ रन बनाए।

त्यस्तै, ओपनर कुशल भुर्तेलले ३० रन र दिलसाद अलीले २७ रन जोडे। अन्त्यतिर ललित राजवंशीले ३० बलमा १८ रन बनाउँदै अविजित रहे।

त्रिभुवन आर्मी क्लबका बलरहरूले कसिलो बलिङ गर्दै पुलिसलाई ठूलो स्कोर बनाउन रोके। आर्मीका लागि पवन कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै १०.३ ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए। आकाश चन्द, साहब आलम, नरेन साउद र बसिर अहमदले समान १-१ विकेट हात पारे।

खेलको सुरुमा आर्मीले टस जितेर फिल्डिङ रोजेको थियो। पुलिसको सुरुवात राम्रो हुन सकेन। अमित श्रेष्ठ (१०) र शंकर राना (३) सस्तोमै आउट भएपछि टिम दबाबमा परेको थियो।

आरिफ शेख र दिलसाद अलीबीच चौथो विकेटका लागि ७६ बलमा ४९ रनको साझेदारी भए पनि त्यसपछि लगातार विकेट गुमेको थियो। लन्च ब्रेकसम्म पुलिसले ४० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएको थियो।

अहिले इनिङ्स ब्रेक भएको छ र आर्मीले जवाफी ब्याटिङ सुरु गर्ने तयारी गरिरहेको छ। यो दुई दिवसीय खेल हो।

फागुन ८, २०८२ शुक्रबार १३:३७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।