अमेरिकामा ‘वर्ल्ड एआई एलायन्स’ को स्थापना, नेतृत्वमा नेपाली प्रविधिज्ञ उज्ज्वल राय

अमेरिकामा ‘वर्ल्ड एआई एलायन्स’ को स्थापना, नेतृत्वमा नेपाली प्रविधिज्ञ उज्ज्वल राय

काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को ७०औं वार्षिकोत्सवको अवसर पारेर अमेरिकाको न्युयोर्कमा ‘वर्ल्ड एआई एलायन्स’को आधिकारिक घोषणा गरिएको छ। यस संस्थाको नेतृत्व नेपाली प्रविधिज्ञ एवं सरकारी सल्लाहकार उज्ज्वल रायले गर्ने भएका छन्।

नेपालको राष्ट्रिय एआई नीति र ३० वर्षे आइटी रोडम्याप निर्माणमा प्रमुख भूमिका खेलेका रायले वर्ल्ड एआई एलायन्सको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। उनी सअघि नै अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको ‘आईईईई एथिकल एआई कमिटी’ को सदस्यका रूपमा सक्रिय थिए।

​​​​​​​क्यान् महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले रायको यो उपलब्धिलाई नेपाली सूचना प्रविधि क्षेत्रको कोसेढुङ्गाका रूपमा व्याख्या गर्दै यसले नेपाली जनशक्तिको क्षमता विश्वस्तरमा प्रमाणित भएको बताए।

यस संस्थाको मुख्य उद्देश्य एआईको नैतिक र उत्तरदायी प्रयोगलाई बढावा दिए। संस्थाले नैतिक सुशासन, शिक्षा र प्रतिभा खोजी, खुला पूर्वाधार र विश्वव्यापी सहकार्य जस्ता चार मुख्य स्तम्भमा काम गर्नेछ।

न्युयोर्कमा मुख्यालय रहेको यस संस्थाको नेतृत्व टोलीमा अर्का नेपाली युवा साइबर सुरक्षा विज्ञ सुयोग पराजुली महासचिवको रूपमा रहेका छन् भने क्रिस एकम्यान, क्रिस साल्सबरी, मेल्भिन राल्फ मान्चाउन र ध्रुबो आदित्य जस्ता अन्तर्राष्ट्रिय विशेषज्ञहरू सल्लाहकारका रूपमा आबद्ध छन्।

संस्थापक अध्यक्ष रायले यस संस्थालाई एआईको मानवहित र पारदर्शिताका लागि एक विश्वव्यापी अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

फागुन ८, २०८२ शुक्रबार १३:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।