सुस्त चक्रपथ विस्तार : नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्म बल्ल सर्भिस लेन कालोपत्रे (फोटो फिचर)
काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रलाई घेरेको २७ किलोमिटर लामो चक्रपथ विस्तारको दोस्रो खण्डको काम अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको छ।
पहिलो खण्ड (कोटेश्वर-कलंकी)को काम सम्पन्न भएर २०७५ सालमै हस्तान्तरण भइसके पनि दोस्रो खण्डको विस्तारले अझै गति लिन सकेको छैन।
चीन सरकारको अनुदानमा अघि बढ्ने भनिएको कलंकीदेखि बसुन्धरा खण्डको निर्माणमा चरम ढिलाइ भएपछि नेपाल सरकार आफैँले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेर केही खण्डको स्तरोन्नति थालेको छ।

अहिले महाराजगन्जस्थित नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब ७०० मिटर दूरीमा सर्भिस लेन कालोपत्रे गर्ने काम भइरहेको छ।
सडक डिभिजन कार्यालय, मीनभवनले २०८२ असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेर काम अघि बढाएको हो। योजनाअनुसार यस खण्डलाई १० लेनको बनाइनेछ भने सँगसँगै फुटपाथ निर्माण र कर्बस्टोन लगाउने काम पनि भइरहेको छ।

तर सडक निर्माणको अस्तव्यस्तताले सर्वसाधारणलाई सास्ती थपेको छ। एकातिर सडक रोलरले सर्भिस लेनमा कालोपत्रे पेल्दै छ भने अर्कोतिर सडक किनारमै ड्रममा आगो बालेर मजदुरहरू अलकत्रा पगालिरहेका छन्। निर्माण सामग्री सडकमै छरपस्ट हुँदा पैदलयात्री र साइकलयात्री जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य छन्।

सरकारको योजना महाराजगन्जदेखि चाबहिल गोपीकृष्ण हल अगाडिको धोबीखोला पुलसम्म नै सडक विस्तार गर्ने भए पनि हाललाई चप्पल कारखानासम्मको ७०० मिटर खण्डमा मात्रै कालोपत्रेको काम भइरहेको छ।






फागुन ८, २०८२ शुक्रबार ०९:२९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।