महिला हिंसामा धरौटीमा छुटेका अभियुक्तलाई मञ्चमा साक्षी राखेर आयो रास्वपाको वाचा पत्र, महिला प्रतिनिधी शून्य
काठमाडौं : कर्णालीको राजधानी सुर्खेतमा बिहीबार परिवर्तन उद्घोष सभा मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गर्दा मञ्चमा दुई अभियुक्त देखिए भने महिला र जेनजीको प्रतिनिधित्व शून्य। देश बदल्ने उद्घोषसहित आफ्नो सरकार बने गर्ने सय काम उल्लेख भएको वाचा पत्र सार्वजनिक गर्दा मञ्चमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहित सात जना देखिएका थिए। तर त्यसमा महिला प्रतिनिधि थिएनन्।
मञ्चमा सभापति, उपसभापति, महामन्त्री लगायतका नेताहरूसँगै अरनिको पाँडेसमेत देखिँदा मञ्चलाई समावेशी बनाउन पार्टीले ध्यान दिएको देखिएन। पार्टीमा विवेकशील साझाबाट गएका समीक्षा बास्कोटासहित पार्टीभित्रै महिला नेतृहरू नभएका हैनन्। तर ती कोही पनि मञ्चमा देखिएनन्।
यति मात्रै हैन मञ्चमा रहेका दुई जना अदालतका अभियुक्त हुन् जो जमानत र धरौटीमा रिहा भएका हुन्। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पाँच अदालतबाट धरौटी र एक अदालतबाट सम्भावित बिगो बुझाएर रिहा भएका हुन्। अर्का अरनिको पाँडे महिलाविरुद्धको गम्भीर अपराधको अभियोग लागेका र अदालतबाट धरौटीमा रिहा भएका अभियुक्त हुन्।
रवि पार्टीको नेतृत्वकर्ता भएकाले पार्टीको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुको कारण देखिन्छ। तर सरकार बनाउने दाबीसहितको वाचा पत्र सार्वजनिक जस्तो महत्वपूर्ण कार्यक्रमको मञ्चमा महिला हिंसाका अभियुक्तलाई महत्वका साथ सहभागी गराउँदा रास्वपा आफ्नो दलका नेतामाथि लाग्ने गम्भिर अभियोगमा नरम नीति लिने दल देखियो।
एक महिलालाई इमेलमार्फत अश्लील सन्देशहरू पठाएको भन्दै साइबर ब्युरोमा दायर भएको जाहेरीका आधारमा पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंको आदेशमा २० हजार धरौटीमा रिहा भएका थिए। यस अगाडि उनी रास्वपाको समानुपातिक सूचीमा समेत परेका थिए। पछि उनको नाम फिर्ता लिइएको थियो।
सम्बन्धित समाचार
फागुन ७, २०८२ बिहीबार २२:४२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।