‘नेपथ्य लाइभ इन सिलिगुडी’मा गुन्जिने भो ‘रेमश फिरिरि’
काठमाडौं : सर्वप्रिय नेपाली गीत ‘रेशम फिरिरि’ र ‘छेक्यो छेक्यो देउराली डाँडा’ अब भारतको सिलिगुडीमा गुन्जिने भएका छन्। आगामी फेब्रुअरी २८ मा भारतको सिलिगुडीस्थित उत्सोधारा टिस्टा टाउनसिपमा नेपथ्यले आफ्ना चर्चित गीतहरू गाउँदै छन्।
कावाखाली ग्राउण्ड पछाडि आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सिलिगुडी’मा नेपथ्य ब्याण्डमा अमृत गुरुङ सहितको टिमले नेपाली तथा आसपास देशका दर्शकलाई आफ्ना गीत सुनाउने छन्। त्यहाँ नेपाली लोक-रक व्याण्ड पहिलो पटक गुञ्जन लागेको हो।
साथै त्यसका लागि आयोजक टिमका तर्फबाट आधिकारिक टि-सर्ट र मर्चेन्डाइज सार्वजनिक भएको छ। टि-सर्ट र मर्चेन्डाइजलाई दार्जिलिङका सांसद राजु विष्टले समेत सार्वजनिक गरेका छन्। यो कार्यक्रम पीभीई नेटवर्क र क्लब ग्राभिटीले संयुक्त रूपमा आयोजना गर्न लागेको हो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा सांसद विष्ट उपस्थित रहने आयोजकले जानकारी दिएको छ। पीभीई नेटवर्कका संस्थापक निर्देशक विकेश कायस्थले कन्सर्टमा उत्तर बंगाल, भारतको उत्तर-पूर्वी क्षेत्र, भुटान र नेपालबाट हजारौं दर्शकहरूको उपस्थिति रहने दाबी गरेका छन्।
उनले मिडियासँगको कुराकानीमा यो कार्यक्रम साधारण सांगीतिक प्रस्तुति मात्र नभई सीमापार सांस्कृतिक संगमको रूपमा स्थापित हुने बताए। यसअघि नेटवर्कले गत वर्षको नोभेम्बरमा सिलिगुडी र गान्तोकमा ‘लेट्स गेट लाउड इण्डिया सिरिज’ कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा गायक तथा संगीतकार सज्जनराज वैद्यले प्रस्तुति दिएका थिए।
फागुन ७, २०८२ बिहीबार २१:१२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।