भ्रष्टाचारमा नेता र नाता हेरिने छैन, दोषी जोसुकै भए पनि कारबाही हुन्छ : गगन थापा

भ्रष्टाचारमा नेता र नाता हेरिने छैन, दोषी जोसुकै भए पनि कारबाही हुन्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने सङ्कल्प व्यक्त गरेका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कार्यक्रममा कांग्रेसको प्रतिज्ञापत्रबारे प्रष्टीकरण दिँदै उनले भ्रष्टाचार नियन्त्रणमा पार्टीले कठोर नीति लिने दाबी गरे।

थापाले भ्रष्टाचारको अनुसन्धान गर्दा दोषीको ओहोदा वा नाता सम्बन्धलाई वास्ता नगरिने स्पष्ट पारे। उनले भने, "कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन। जोसुकै होस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन।"

भ्रष्टाचार निवारणका लागि कांग्रेसले २०४७/०४८ साल यता सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने योजना अघि सारेको छ। यसका लागि एक शक्तिशाली आयोग बनाइने थापाले बताए। 

उनले भने, "आयोगले सबैको छानबिन गर्छ। कांग्रेसका पनि प्रत्येकको छानबिन हुन्छ। आयोगले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा नेता पनि हेर्दैन, नाता पनि हेर्दैन। यसका सिफारिस सबै कार्यान्वयन गर्छ। किन गर्छ भने नेपाललाई भ्रष्टाचार मुक्त बनाउनका निम्ति सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरियो भने बिसौं वर्षपछाडि भए पनि सजाय हुने रहेछ है भन्ने मान्यता स्थापित गर्नुपर्नेछ।"

कानुनी सुधारका सम्बन्धमा बोल्दै उनले नीतिगत भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र ल्याइने र स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्टेरेस्ट) सम्बन्धी कानुन बनाइने बताए। "अख्तियारले नीतिगत भ्रष्टाचार हेर्ने कुरालाई ६ महिनाभित्र बनाउने। कन्फ्लिक्ट अफ इन्टेरेस्ट र तोकिएको समयमा काम नगर्नू पनि भ्रष्टाचार हो भन्ने कुरालाई कानुन नै बनाएर लागु गर्ने हो," उनले थपे। 

महामन्त्री थापाले सार्वजनिक सेवा प्रवाहलाई नागरिक केन्द्रित बनाउनुपर्नेमा जोड दिँदै सेवामा ढिलासुस्ती भए नागरिकले क्षतिपूर्ति पाउने व्यवस्था गरिने उल्लेख गरे। "सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ। एक घण्टामा सेवा पाइनेछ भन्दा त्यो एकै घण्टामा सेवा पाउनुपर्छ," उनले भने। 

डिजिटल सेवालाई सातै दिन र २४ सै घण्टा उपलब्ध गराउने तथा प्रविधिको प्रयोगमार्फत घरदैलोमै सेवा पुर्याउने गरी कांग्रेसले योजना बनाएको उनको दाबी छ। सेवा प्रवाहका लागि आवश्यक कानुन संशोधन र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उनले बताए। 

फागुन ७, २०८२ बिहीबार १५:४०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।