'क्रान्तिको आधारभूमि' रुकुमपूर्वलाई 'विकासको नमूना जिल्ला' बनाउने प्रचण्डको घोषणा

'क्रान्तिको आधारभूमि' रुकुमपूर्वलाई 'विकासको नमूना जिल्ला' बनाउने प्रचण्डको घोषणा

रुकुमपूर्व : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुमपूर्वलाई 'क्रान्तिको आधारभूमि'बाट 'विकासको नमूना जिल्ला'मा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।

चुनावी अभियानका क्रममा रुकुमपूर्वको सिस्ने गाउँपालिका पुगेका प्रचण्डले जनभेटघाट तथा अन्तरक्रियाको क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

आफ्नो राजनीतिक कर्मथलोका रूपमा रुकुम-रोल्पासँगको चार दशक लामो सम्बन्ध स्मरण गर्दै उनले भने, “रुकुमपूर्व मेरो लागि नयाँ ठाउँ होइन। म ४१ वर्ष पहिले नै यहाँ आएको थिएँ। रुकुम-रोल्पा मेरै नेतृत्वमा भएको जनयुद्धको आधार इलाका हो। यहीँबाट मैले क्रान्तिको नेतृत्व गरेँ।”

भौतिक कठिनाइका बाबजुद जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा नयाँ ऊर्जा मिलेको बताउँदै उनले घरदैलो अभियानलाई ‘विजय उत्सव’ को संज्ञा दिए। जनलहर देखेर उत्साहित हुँदै उनले भने, “कतै भव्य जुलुस छ, कतै पञ्चेबाजा बजेका छन्। मत माग्न होइन, विजय उत्सव मनाइरहेको जस्तो लाग्छ।”

प्रचण्डले आसन्न निर्वाचनलाई नियमित प्रक्रिया मात्र नभई विशिष्ट राजनीतिक लडाइँका रूपमा चित्रण गरे। मुलुकमा अहिले तीन फरक प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको उल्लेख गर्दै उनले भदौ २३ मा युवा हत्या गर्ने, भदौ २४ मा आगजनी-विध्वंस मच्चाउने र सुशासन तथा गणतन्त्रको पक्षमा उभिने शक्तिबीच जनमत सङ्ग्रह हुन लागेको बताए।

उनले थपे, “मान्छे मार्नुहुन्न, आगो लगाउनु हुन्न, भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने प्रवृत्तिलाई जिताउने कि हिंसा र विध्वंसलाई जिताउने भन्ने फैसला जनताले गर्नेछन्।”

आफ्नो पार्टी सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न राष्ट्रिय अभियानमा होमिएको जिकिर गर्दै उनले जनताले सकारात्मक शक्तिलाई नै रोज्ने विश्वास व्यक्त गरे। निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै उनले सुरक्षा निकायप्रति पूर्ण भरोसा रहेको बताए।

उनले भने, “यो निर्वाचन राष्ट्रका लागि महत्त्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्छ।”

फागुन ६, २०८२ बुधबार २२:२०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।