टी-२० विश्वकप : शिवम दुबेको विष्फोटक ब्याटिङ, नेदरल्यान्ड्ससामु भारतद्वारा १९४ रनको लक्ष्य प्रस्तुत
काठमाडौं : भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को ३६औं खेलमा भारतले नेदरल्यान्ड्ससामु जितका लागि १९४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनायो। भारतको इनिङको सुरुवात खराब रह्यो।
ओपनर अभिषेक शर्मा खाता नखोली आर्यन दत्तको बलमा बोल्ड भए। यो उनको लगातार तेस्रो ‘डक’ हो। इशान किशन (१८ रन) र तिलक वर्मा (३१ रन) ले इनिङ सम्हाल्ने प्रयास गरे पनि ठूलो स्कोर बनाउन सकेनन्।
मध्यक्रममा आएका कप्तान सूर्यकुमार यादवले ३४ रनको योगदान दिए। तर, खेलको मुख्य आकर्षण शिवम दुबे रहे। उनले नेदरल्यान्ड्सका बलरहरूमाथि आक्रामक ब्याटिङ गर्दै मात्र ३१ बलमा ६६ रनको विष्फोटक इनिङ खेले। दुबेले आफ्नो इनिङमा ४ चौका र ६ छक्का प्रहार गरे।
उनलाई हार्दिक पाण्ड्याले राम्रो साथ दिए। हार्दिकले २१ बलमा ३ छक्कासहित ३० रन बनाए। अन्तिम ५ ओभरमा भारतीय ब्याटरहरूले आक्रामक रूपमा प्रस्तुत हुँदै ७५ रन जोडेपछि भारत बलियो स्थितिमा पुगेको हो। रिंकु सिंह ६ रनमा अविजित रहे।
बलिङतर्फ नेदरल्यान्ड्सका स्पिनर आर्यन दत्त सबैभन्दा सफल र किफायती साबित भए। उनले ४ ओभरमा मात्र १९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए।
लोगान भ्यान बिकले सर्वाधिक ३ विकेट लिए पनि उनी निकै महँगो साबित भए; उनले ४ ओभरमा ५६ रन खर्चिए। काइल क्लेनले १ विकेट हात पारे भने बास डि लिडले विकेट नलिए पनि ४ ओभरमा २८ रन दिएर कसिलो बलिङ गरे।
नेदरल्यान्ड्सले अब केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। जितका लागि डच टोलीले प्रति ओभर ९.७ को रन रेटमा १९४ रन बनाउनुपर्नेछ।
फागुन ६, २०८२ बुधबार २१:१९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।