जेनजी आन्दोलनबारे कांग्रेसको मध्यम धार : २३ मा जस्तो युवा नमारिने, २४ मा जस्तो नकाब लगाएर सिंहदरबार पनि जलाउन नसक्ने दाबी

जेनजी आन्दोलनबारे कांग्रेसको मध्यम धार : २३ मा जस्तो युवा नमारिने, २४ मा जस्तो नकाब लगाएर सिंहदरबार पनि जलाउन नसक्ने दाबी

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गतेको घटनाबारे मध्यम नीति लिँदै अबका दिनमा राज्यको गोलीबाट नवयुवाहरू नमारिने र भदौ २४ मा जस्तो नकाब लगाएर सिंहदरबार जलाउन पनि नपाउने बताए। बुधवार जनकपुरमा आयोजित पार्टीको प्रतीक्षा सभामा सम्बोधन गर्दै उनले भदौ २३ र २४ दुवै दिनको गलत कामको विरोध गरे।

" प्रश्न गर्दैगर्दा कुनै युवक भदौ २३ को जस्तो राज्यको गोलीबाट मारिनु पर्दैन" उनले सभामा भने "कसैले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउँदैन। यो हाम्रो प्रतिज्ञा हो।" 

उनले सभामा कांग्रेसले भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना सम्बोधन गर्ने भन्दै भने " ती हाम्रै भाइ भतिजा हुन्। जेनजी भनेको कहीँबाट आएको होइन हाम्रै हो। तिनले हामीलाई इन्कार गरेको होइन, हाम्रो शैली बदल भनेको हो।" 

अहिलेको नेपाली कांग्रेस पखालिएर आएको भन्दै बदलिएको कांग्रेसबारे पार्टीका नेता तथा कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर बताउनु पर्ने बताएका थिए। उनले हिजोका दिनमा मधेसले कांग्रेसलाई साथ दिएको र अब मधेसलाई साथ दिन पार्टी सभापति रहेको आफू निर्वाचनमा मधेस झरेको भन्दै अब मधेस बदलिने दाबी गरे।

उनले ३० वर्षमा गर्न नसकेको पूर्वाधारको विकास पाँच वर्षमा गर्न स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने योजनासहित कांग्रेस आएको उनले बताए। उनले आफू मधेसको नेता नभई मधेसको बेटा बन्न आएको बताए। अब मधेसको स्वर्णिम समयको शुरुवात गर्न आफू मधेस आएको भन्दै अब काठमाडौंले मधेसलाई सम्मानजनक रुपमा हेर्ने बनाउने बताए।

"अब सिंहदरबारमा,बालुवाटारमा छिर्दा मधेसका कसैले पनि लबेदा सुरुवाल लगाउनु पर्दैन। आफ्नै पोशाकमा सानले छिर्न सक्छन्" उनले भने " अब गर्वले कहु हम मधेसी छि भन्न सक्नुपर्छ।"

मधेस कांग्रेस जन्माएको ठाउँ भएको भन्दै उनले मधेसबाट सानका साथ सांसद बन्न आएको भन्दै उनले गाउँ-गाउँ जान आग्रह गर्दै कुनै दुर्घटना नगराई यो देशको अवस्था बदल्छौँ भन्दै मत माग्न आग्रह गरे।

 

फागुन ६, २०८२ बुधबार १८:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।