काठमाडौंका चोकमा जब देउडा गुञ्जिन्छन्, तब मात्र सुदूरपश्चिम जोडिन्छ : बालेन

काठमाडौंका चोकमा जब देउडा गुञ्जिन्छन्, तब मात्र सुदूरपश्चिम जोडिन्छ : बालेन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई हालसम्म राष्ट्रिय मूलप्रवाहसँग जोड्न नसकिएको बताएका छन्। धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले सुदूरपश्चिमलाई काठमाडौंसँग भावनात्मक र सांस्कृतिक रूपमा जोड्नुपर्नेमा बताए।

सुदूरपश्चिमलाई अब सु-नजिक पश्चिम बनाउनु पर्ने शाहको भनाई छ। उनले राजनीतिक आस्थाका आधारमा गरिने विभेद अन्त्य गरी सबैका लागि साझा पूर्वाधार निर्माण गर्नु नै रास्वपाको मुख्य एजेन्डा भएको पनि स्पष्ट पारे।

"सुदूरपश्चिमलाई जोड्नै सक्या छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ, जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक चोकमा बज्छ। अनि काठमाडौंसँग बल्ल जोडिन्छ सुदूरपश्चिम," उनले भने, "सुरुमा त गीत बज्नु पर्यो, त्यसपछि आवाज बज्छ, माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ, तर त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा हो। सुदूरपश्चिमलाई सु-नजिक पश्चिम बनाउनु पर्यो।"

शाहले नेपालको प्राकृतिक स्रोत र पर्यटनको अथाह सम्भावनाबारे चर्चा गरे। वैदेशिक मोडेलको अन्धनुकरण गर्नुभन्दा स्वदेशी स्थलहरूको प्रवर्द्धन र प्रचारमा जोड दिनुपर्ने धारणा राखे। "मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्याण्डको बाउ बडीमालिका यहीँ छ, स्विजरल्याण्डको पराकाष्ठा रामारोशन यहीँ छ, खप्तड नेसनल पार्क यहीँ छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड ?," शाहले भने, "हामी नेपालीहरू माल भएको चिन्न नपाएको मान्छेहरू पर्यौं। भएको चिज देखाउनै सक्या छैन।"

शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती र राजनीतिकरणप्रति लक्षित गर्दै उनले भने, "खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो। स्वास्थ्य उपचार पाउनु पर्यो। दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन। डेढ वर्षमा बन्नु पर्यो। त्यो हो हाम्रो एजेन्डा।"

शाहले अगाडि थपे, "रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने ? यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने काँग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ।"

आफू धेरै बोल्नेभन्दा काम गर्ने पक्षमा रहेको बताउँदै उनले जनतासँग भोटको साटो कामको सूची मागे।  "म धेरै बोल्ने मान्छे हैन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस्," शाहले भने, "तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो, के-के छ तपाईंहरुको काम, हाम्रो उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ बरु कामको लिस्ट दिनु, राष्ट्रिय स्वतन्त्र पार्टीले काम गरेर देखाउँछ।"

सम्बोधनको अन्त्यमा कलाकारको शैलीमा स्थानीय भाषाको प्रयोग गर्दै उनले भने, "आँखा हेर्नु पर्दैन, काम हेर्नुहोला। म धेरै बोल्दिन। सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तमलाई (तपाईंलाई धेरै धेरै माया)। आई लभ यु।"

फागुन ६, २०८२ बुधबार १६:१०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।