जनताको अधिकारलाई 'चुनावी एजेन्डा' बनाउने युगको अन्त्य गर्छौं : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनतासँग बाचा गर्ने, तर जनताका माग पुरा नगर्ने प्रवृत्ति अन्त्य गर्न चाहेको बताएका छन्।
नेता जित्ने, तर जनता हार्ने भइरहेको उल्लेख गर्दै उनले रास्वपाको सरकार बने त्यस्तो प्रवृत्ति नदोहोरिने आश्वास दिए। धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकारलाई भोट बैंकको रूपमा प्रयोग गर्न नदिने दाबी गरे।
"रास्वपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा बल्ड्याङ्ग्रे अक्षरमा लेख्ने युगलाई अन्त्य गर्छ। जनताको माग हो। त्यसलाई पुरा गर्ने हो," उनले भने, "त्यसैले हामीले पाँच वर्षको स्थायी सरकार मागेका छौं।"
लामिछानेले अब जनतासँग बाचा गरेर काम नगर्ने नेताले सजाय पाउने युगको सुरुवात भइसकेको बताए। उनले भने, "जनताले भोट दिने, जनतालाई नेताले बाचा दिने, अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन। बाच जसले गरेको हो, पुरा नगर्ने हो भने सजाय पनि त्यसैले पाउने हो। जनताले होइन।"
उनले रोजगारीको लागि भारतमा रहेका सुदूरपश्चिमका नागरिकलाई भोट हाल स्वदेश फर्किन आग्रह गरे। लामिछानेले देश बदल्नको लागि छुट्टी मिलाएर भएपनि भोट हाल्नको लागि स्वदेश फर्किन अपिल गरे।
फागुन ६, २०८२ बुधबार १५:३२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।