टी२० विश्वकपको प्रदर्शनपछि अलराउन्डरको वरीयतामा दुई स्थान माथि उक्लिए दीपेन्द्र, ब्याटिङ र बलिङमा कति नम्बर?

टी२० विश्वकपको प्रदर्शनपछि अलराउन्डरको वरीयतामा दुई स्थान माथि उक्लिए दीपेन्द्र, ब्याटिङ र बलिङमा कति नम्बर?

काठमाडौं : आईसीसी टी२० विश्वकप २०२६ मा शानदार प्रदर्शन गरिरहेका नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्व वरीयतामा दुई स्थान माथि उक्लिएका छन्।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र टी२० अलराउन्डरतर्फ विश्वको चौथो स्थानमा पुगेका हुन्। यसअघि उनी दोस्रो स्थानसम्म पुगेका थिए।

पछिल्लो वरीयतामा दुई स्थान सुधार गर्दै दीपेन्द्र चौथो नम्बरमा पुगेका हुन्। उनको रेटिङ २४४ रहेको छ। यससँगै उनले विश्वका ठूला नामहरूलाई पछि पारेका छन्।

टी२० अलराउन्डर वरीयताको शीर्ष स्थानमा पाकिस्तानका सइम अयुब (३०३ रेटिङ) रहेका छन् भने दोस्रोमा जिम्बावेका सिकन्दर राजा र तेस्रोमा भारतका हार्दिक पाण्ड्या रहेका छन्।

दीपेन्द्रले वेस्ट इन्डिजका रोस्टन चेस र पाकिस्तानका मोहम्मद नवाजजस्ता खेलाडीलाई पछि पारेका हुन्।

अलराउन्डरसँगै ब्याटिङ र बलिङतर्फ पनि दीपेन्द्रको वरीयतामा सुधार आएको छ। ब्याटिङमा ११ स्थान सुधार गर्दै दीपेन्द्र ६०औं स्थानमा पुगेका छन् भने बलिङमा ३ स्थान सुधार गर्दै उनी ६९औं स्थानमा रहेका छन्।

मुम्बईको वाङ्खेडे रंगशालामा जारी टी२० विश्वकपको समूह ‘सी’ अन्तर्गतका खेलहरूमा दीपेन्द्रले ब्याट र बल दुवैबाट सनसनीपूर्ण प्रदर्शन गरेपछि उनको वरीयतामा यो सुधार आएको हो।

स्कटल्याण्ड विरुद्धको समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दा दीपेन्द्र नायक बने। उनले मात्र २३ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ५० रन बनाएका थिए। उनी सो खेलको 'प्लेयर अफ द म्याच' समेत चुनिए।

यस्तै वेस्ट इन्डिजविरुद्धको खेलमा बलिया बलरहरूको सामना गर्दै दीपेन्द्रले ४७ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेल्दा इङ्गल्याण्डसँग मात्र ४ रनले पराजित भएको रोमाञ्चक खेलमा उनले २९ बलमा ४४ रन बनाउनुका साथै बलिङमा २ महत्वपूर्ण विकेट समेत लिएका थिए। इटालीविरुद्धको खेलमा भने उनले १७ रन जोडे।

फागुन ६, २०८२ बुधबार १५:११:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।