दीप्ति आचार्य नेपाल र एसिया-प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

दीप्ति आचार्य नेपाल र एसिया-प्रशान्त क्षेत्रका लागि आईसीएको राजदूत नियुक्त

काठमाडौं : विश्वव्यापी संस्था ‘इन्टरनेसनल करिकुलम एसोसिएसन’ (आईसीए) ले संस्कृति इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक दीप्ति आचार्यलाई सन् २०२५-२०२६ का लागि आफ्नो राजदूत नियुक्त गरेको छ।

९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरूसँग सहकार्य गर्दै आएको आईसीएले आचार्यलाई नेपाल र एसिया-प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएको हो।

नवनियुक्त राजदूतका रूपमा आचार्यले नेपाल र छिमेकी देशहरूमा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरू मार्फत सिकाइ सुधार गर्न र शिक्षकहरूको सञ्जाल विस्तार गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछिन्।

आईसीएकी निर्देशक सारा ब्ल्याकमोरले आचार्यको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता र अनुभवले विद्यालय समुदायलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।

आचार्यको नेतृत्वमा रहेको संस्कृति इन्टरनेसनल स्कुल दक्षिण एसियामै ‘इन्टरनेसनल प्राइमरी करिकुलम’ मान्यता प्राप्त गर्ने पहिलो विद्यालय हो।

विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय आचार्यले अमेरिकाबाट मन्टेस्वरी शिक्षामा स्नातकोत्तर गरेकी छन्।

उनी अन्तर्राष्ट्रिय प्रशिक्षकका साथै टोस्टमास्टर्स इन्टरनेसनलकी विशिष्ट नेतृत्वकर्ता र जोन्टा क्लब अफ काठमाडौंमार्फत महिला तथा बालबालिकाको अधिकारका लागि क्रियाशील सामाजिक अभियन्ता पनि हु्न्।

फागुन ६, २०८२ बुधबार १४:१९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।