रुपन्देही-३ मा एमाले उम्मेदवार घिमिरेलाई प्रलोपाले समर्थन गर्ने

रुपन्देही-३ मा एमाले उम्मेदवार घिमिरेलाई प्रलोपाले समर्थन गर्ने

रुपन्देही : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ।

पार्टीका आफ्नै उम्मेदवार गोबिन्द प्रसाद काराखेती अनुशासनको कारबाहीमा परेको जनाउँदै प्रलोपाले एमालेका घिमिरेलाई समर्थन गर्ने निर्णय लिएको हो।

उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट  समानुपातिक उम्मेदवार बनाएको पाइएपछि पार्टीले उनलाई पार्टीबाट निष्काशन गरेको थियो।

पार्टीले प्रत्यक्षतर्फ एमाले उम्मेदवार घिमिरेलाई ‘सूर्य’ चिह्नमा मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल समेत गरेको छ।

पार्टीका क्षेत्रीय इञ्चार्ज एवं केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला विकले संयुक्त रूपमा सो निर्णय सार्वजनिक गर्दै चुनावी तालमेलबारे औपचारिक जानकारी गराएका हुन्।

प्रलोपाका अनुसार रुपन्देही-३ सँगै कर्णाली प्रदेश तथा साविक राप्तीका केही स्थानमा पनि एमालेसँग चुनावी तालमेल गरिएको छ।

फागुन ६, २०८२ बुधबार ०८:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।