बङ्गलादेशका प्रधानमन्त्रीद्वारा नेपालको आसन्न निर्वाचनको सफलताको कामना
काठमाडौं : बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सफलताको कामना गरेका छन्।
मङ्गलबार साँझ परराष्ट्रमन्त्री बालानन्द शर्मासँगको भेटमा प्रधानमन्त्री रहमानले आसन्न संसदीय निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।
सो अवसरमा मन्त्री शर्माले रहमानलाई बङ्गलादेशको प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा बधाई दिँदै नेपालका प्रधानमन्त्री सुशीला कार्कीले पठाउनुभएको बधाई सन्देश हस्तान्तरण गरे।
सन्देशमा प्रधानमन्त्री कार्कीले दुवै देश र जनताको साझा हितका लागि आपसी सम्मान र साझेदारीको भावनाका साथ सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित भएको भन्दै त्यसको सराहना गरे। साथै, उनले रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेकोमा बधाई समेत ज्ञापन गरे।
जवाफमा प्रधानमन्त्री रहमानले आफ्नो शपथग्रहण समारोहमा सहभागी भई नेपाल सरकार र जनताका तर्फबाट सद्भाव दर्शाएकोमा मन्त्री शर्मालाई धन्यवाद दिए।
भेटवार्ताका क्रममा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको दिगो साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरूबीच व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ।
यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए।
ढाका बसाइका क्रममा उनले बङ्गलादेश जमात-ए-इस्लामीका नेता शफिकुर रहमानसँग पनि भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा विचारविमर्श गरेका थिए।
प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन गत सोमबार ढाका प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।
फागुन ६, २०८२ बुधबार ०७:२७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।