लगातारको हारपछि आएको यो जित निकै महत्वपूर्ण छ : कप्तान पौडेल

लगातारको हारपछि आएको यो जित निकै महत्वपूर्ण छ : कप्तान पौडेल

काठमाडौं : टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको शानदार जित हासिल गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले यो जित आफ्नो र टिमका लागि निकै अर्थपूर्ण रहेको बताएका छन्।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान पौडेलले लगातारको हारपछि आएको यो जितले ठूलो राहत दिएको बताए।

‘कप्तानका रूपमा यो मेरो दोस्रो विश्वकप हो, र लिग चरणको अन्तिम खेलमा भए पनि पहिलो जित निकाल्नु टिमका लागि निकै महत्वपूर्ण छ’, रोहितले भने।

उनले इङ्ल्यान्डविरुद्धको खेलमा नेपालले गरेको प्रदर्शनपछि समर्थकहरूले देखाएको मायाको प्रशंसा गरे।

‘इङ्ल्यान्डसँगको खेलपछि समर्थकहरूले टिकट काटेर हामीलाई अन्तिम खेलसम्म साथ दिए। यो जित उनीहरूका लागि पनि हो’, उनले थपे।

खेलको रणनीतिका बारेमा बोल्दै रोहितले डेथ ओभरमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरेको बताए।

‘हामीले विकेट लिनुभन्दा पनि डट बलमा बढी ध्यान केन्द्रित गरेका थियौँ, जसले गर्दा उनीहरूलाई १७० रनमा रोक्न सकियो’, उनले भने।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र गुलसन झाको प्रदर्शनलाई उनले खेलको टर्निङ प्वाइन्ट माने।

‘हामीले जसरी खेल्न चाहेका थियौँ, सुरुआत त्यस्तो नभए पनि दीपेन्द्र र गुलसनले हाम्रा लागि खेल जिते। दीपेन्द्रमा अद्भुत प्रतिभा छ र उनी म्यान अफ द म्याचको हकदार हुन्’, रोहितले भने।

प्रतियोगिताको समीक्षा गर्दै उनले भने, ‘समग्रमा भन्नुपर्दा, हामी इङ्ल्यान्ड र स्कटल्यान्डसँग जसरी खेल्यौँ, त्यही लय चाहन्थ्यौँ। इटालीसँगको खेल भने हाम्रो योजना अनुसार भएन। हामी यहाँबाट सिकेर अझ सुधार गर्ने प्रयास गर्नेछौँ।’

फागुन ५, २०८२ मंगलबार २३:२६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।