गत विश्वकपमा जितविहीन थियौँ, त्यसैले यो जित विशेष छ : दीपेन्द्रसिंह ऐरी
काठमाडौं : टी-२० विश्वकप अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाललाई ७ विकेटको जित दिलाउन निर्णायक भूमिका खेलेका दीपेन्द्रसिंह ऐरीले यो जित टिमका लागि निकै अर्थपूर्ण रहेको बताएका छन्।
वानखेडे स्टेडियममा भएको खेलमा मात्र २३ बलमा अविजित ५० रनको विस्फोटक इनिङ खेल्दै ‘प्लेयर अफ द म्याच’ घोषित भएपछि ऐरीले गत विश्वकपको नमीठो यादलाई यो जितले भुलाउन मद्दत गरेको संकेत गरे।
ऐरीले भने, ‘सबैभन्दा पहिले समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु। गत विश्वकपमा हामीले एउटा पनि खेल जित्न सकेका थिएनौँ, त्यसैले यो जित हाम्रा लागि धेरै महत्वपूर्ण छ।’
१७१ रनको लक्ष्य पछ्याउने क्रममा दबाबका बीच ब्याटिङ गर्न आएका ऐरीले आफ्नो यो प्रदर्शनलाई करियरकै उत्कृष्ट मध्ये एक भएको बताए।
उनले भने, ‘यो मेरा लागि उत्कृष्ट इनिङ्स मध्ये एक हो।’
प्रतियोगितामा नेपालको प्रदर्शन सुधारिँदै गएको बताउँदै उनले ठूला टिमसँगको खेलबाट पाठ सिकेको उल्लेख गरे।
‘इङ्ल्यान्डविरुद्धको खेल हाम्रा लागि सिकाइको अनुभव थियो, र आजको यो नतिजा हाम्रो लागि राम्रो भएको छ’, उनले थपे।
ऐरीको अर्धशतकको मद्दतले नेपालले स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य ४ बल बाँकी छँदै पूरा गरेको थियो।
फागुन ५, २०८२ मंगलबार २३:१२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।