दीपेन्द्रको विस्फोटक अर्धशतकमा १२ वर्षपछि टी-२० विश्वकपमा नेपाललाई सान्त्वना जित

दीपेन्द्रको विस्फोटक अर्धशतकमा १२ वर्षपछि टी-२० विश्वकपमा नेपाललाई सान्त्वना जित
तस्बिर- नेपाल क्रिकेट संघ क्यान

काठमाडौं : आईसीसी टी-२० पुरुष विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि ७ विकेटको सान्त्वना जित हात पारेको छ।

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। टी२० विश्वकपमा नेपालले १२ वर्षपछि यो जित हात पारेको हो।

सन् २०१४ को विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। त्यसपछि १० वर्ष विश्वकपमै पुग्न नसकेको नेपालले २०२४ को विश्वकपमा एउटा पनि जित दर्ता गर्न सकेन।

नेपालको जितमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी नायक सावित भए। उनले मात्र २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रनको इनिङ खेले।

१७१ रनको विजय लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुआत गरेको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे।

भुर्तेलले ३५ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाए भने आसिफ शेखले २७ बलमा ३३ रन जोडे। कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए।

त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी र गुलसन झाले नेपाललाई जितसम्म डोर्याए। ऐरीले विस्फोटक ब्याटिङ गर्दै ५० रन बनाए भने गुलसन झाले १७ बलमा अविजित २४ रनको योगदान दिए।

स्कटल्यान्डका लागि माइकल लिस्कले ३ विकेट लिए पनि अन्य बलरहरू महंगो सावित भए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए। उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे। जर्ज मुन्सीले २७ र ब्रान्डन म्याकमुलनले २५ रन बनाए।

नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। यस्तै नन्दन यादवले २ विकेट हात पारे भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। यो जितसँगै नेपालले समूह चरणमा महत्वपूर्ण २ अंक बटुलेको छ भने विश्वकपबाट बाहिरिएको छ।

फागुन ५, २०८२ मंगलबार २३:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।