पूर्वाधारको ‘जग’ र भारतीय ‘पहुँच’ समात्दै औद्योगिक छलाङतिर लुम्बिनी

पूर्वाधारको ‘जग’ र भारतीय ‘पहुँच’ समात्दै औद्योगिक छलाङतिर लुम्बिनी

बुटवल : सुदृढ भौतिक पूर्वाधार र छिमेकी मुलुक भारतसँगको रणनीतिक पहुँचका कारण लुम्बिनी प्रदेश मुलुककै प्रमुख 'औद्योगिक हब' का रूपमा स्थापित भइरहेको छ। 

आन्तरिक लगानीको तीव्र विस्तारसँगै विदेशी लगानीकर्ताले समेत यस क्षेत्रलाई प्राथमिकतामा राख्न थालेपछि लुम्बिनीले नेपालको समग्र औद्योगिक विकासको नेतृत्व गर्ने बलियो संकेत देखाएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशमा हाल ३ खर्ब २७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको लगानीमा ठूला उद्योगहरू सञ्चालनमा रहेका छन्। प्रदेशभर ७५६ उद्योगहरू रहेका छन्।

यी उद्योगहरूबाट ७६ हजार ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। भारतीय सीमासँग जोडिएका जिल्लाहरूबाट कच्चा पदार्थ आयात र उत्पादित वस्तुको बिक्रीमा सहजता भएकाले उद्योगीहरूको रोजाइमा लुम्बिनी पर्न थालेको हो।

सबैभन्दा बढी उद्योग रुपन्देहीमा

लुम्बिनी प्रदेशमा वर्षेनी करोडौं लगानीका नयाँ-नयाँ उद्योगहरू स्थापना भइरहेका छन्। विशेषगरी औद्योगिक विकासमा रुपन्देही जिल्लाले सबैभन्दा ठूलो फड्को मारेको छ।

प्रदेशमा रहेका उद्योगहरूको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देहीको ३८ दशमलव ६२ प्रतिशत र सबैभन्दा कम प्युठान र रोल्पा जिल्लाको शून्य दशमलव ४० प्रतिशत छ।

रुपन्देहीमा मात्र २९२ वटा उद्योग सञ्चालनमा रहेको र सो उद्योगबाट प्रत्यक्ष २६ हजार ८७० जनाले रोजगारी पाएको राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले देखायो। यी उद्योगहरूमा १ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ लगानी छ। 

कोरोना महामारीको अवस्थामा पनि रुपन्देही जिल्लासँगै अन्य नाकाबाट भारतसँग सहज कारोबार भएकाले उद्योगीहरूले आयात निर्यातको सहजतालाई हेरेर रुपन्देहीमा लगानी गरिरहेको नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमको भनाई छ। 

उनका अनुसार लुम्बिनी प्रदेशमा उद्योगीहरूले लगानी सुरक्षित देखेकाले लगानी भइरहेको छ। "पर्याप्त विद्युतको उपलब्धतासँगै औद्योगिक कोरिडोर, विमानस्थल, बुटवल सभा केन्द्र निर्माण, पूर्वाधार विकासले पनि उद्योगीहरूले यहाँ लगानी गर्न उत्साहित भएका हुन," उनले भने।

रुपन्देहीपछि नवलपरासीमा बढी उद्योग स्थापना भएको छ। पछिल्लो समय खुल्ला स्थानको खोजीमा उद्योगीहरू भैरहवा-परासी कोरिडोरतर्फ आकर्षित भएका छन्। नवलपरासीमा गएको असार मसान्त सम्म १८४ उद्योगहरू स्थापना भएका छन्। यी उद्योगबाट प्रत्यक्ष १८ हजार ५५५ जनाले रोजगारी पाएका छन्।

त्यस्तै बाँकेमा १०७ उद्योग स्थापना भएका छन्। यी उद्योगमा ९ हजार १११ जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने यहाँ उद्योगमा २२ अर्ब ८७ करोड बढी लगानी रहेको छ। त्यस्तै कपिलवस्तुमा ६२, दाङमा ४९, बर्दियामा २८, पाल्पामा १२, गुल्मीमा ६, अर्घाखाँची र रुकुममा ५/५ र प्युठान, रोल्पामा ३/३ गरी ७५६ उद्योग प्रदेशमा छन्। यी सबै उद्योगबाट प्रत्यक्ष ७६ हजार ८० जनाले रोजगारी पाएका छन्।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले रुपन्देहीमा मात्र नभई प्रदेशभरका जिल्लामा भएका पूर्वाधार विकास र औद्योगिक विकासलाई हेरेर व्यवसायीले उद्योगमा धमाधम लगानी बढाएको धारणा राखे।

पछिल्लो समय भैरहवा-परासी क्षेत्रमा उद्योगहरू सञ्चालन हुने क्रम अझ बढेको उल्लेख गर्दै उनले छिमेकी देश भारतसँगको कारोबार सहज हुने र नेपालकै मध्यविन्दुमा रहेको रुपन्देहीबाट अन्य जिल्लामा सामान ढुवानी गर्नसमेत सहज हुने भएपछि रुपन्देहीमा उद्योगहरूको स्थापना हुने क्रम बढेको बताए। त्यस बाहेक कपिलवस्तु, दाङ, नवलपरासी क्षेत्रमा पनि औद्योगिक विकास बढ्दै जाँदा जग्गाको उपलब्धताका कारणले त्यहाँ उद्योगहरू स्थापना हुने क्रम बढेको उनको भनाई छ।

अन्तर्राष्ट्रिय व्यापारिक भन्सार नाकाहरूसम्मको पहुँचले गर्दा कच्चा पदार्थ एवं पुँजीगत वस्तुको आयात तथा उत्पादित वस्तुको निर्यात सहज बन्दा पनि उद्योग स्थापनामा उद्योगीले चासो देखाएको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली बताउँछन्।

"अन्य प्रदेशहरूभन्दा उद्योग धन्दा खोल्न सहज जग्गाको उपलब्धता भएर पनि यहाँ उद्योग खोल्न उद्योगीहरू उत्साहित छन्। त्यस्तै सेजको निर्माण र सञ्चालन, घरेलु, साना तथा मझौला उद्योगहरू विस्तारका सुविधा पनि लुम्बिनी प्रदेशमा हुँदा उद्योग खुल्ने क्रम बढ्दो छ," उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अन्य प्रदेशमा निकासी गर्न सकिने अवस्था, भारतसँग लामो सिमाना र त्यहाँका बजारको ठूलो आकारका कारण आयात-निर्यात गर्न सहज स्थिति भएका कारणले पनि लुम्बिनीमा उद्योगीहरूको आकर्षण रहेको बताए।

"कच्चा पदार्थको सहज उपलब्धता, ऊर्जाको आपूर्ति सहज बन्दा उद्योग खोल्न र सञ्चालन गर्न सहज वातावरण हुँदा लगानी बढिरहेको छ," उनले भने।

उद्योग वाणिज्य संघ दाङका पूर्व अध्यक्ष टंकसिह बुढाथोकीले दाङमा सबै उद्योगहरू घरेलुमा दर्ता हुने गरेको भन्दै यसले धेरैलाई स्वरोजगार बनाएको बताए।

"ठूला उद्योग होइनन्, लघु साना उद्योगहरूमा लगानी गर्नेहरूको संख्या बढेको छ । यसमा धेरै जना विदेशबाट फर्केर आएकाहरू समेत छन्," उनले भने।

औद्योगिक करिडोर र पूर्वाधारको प्रभाव

यस प्रदेशमा औद्योगिक करिडोरका रूपमा भैरहवा-लुम्बिनी, बुटवल-भैरहवा, भैरहवा-परासी र परासी-भूमही, कोहलपुर-नेपालगन्ज, चन्द्रौटा-कृष्णनगर करिडोरहरू छन्। यी बाहेक जिल्ला-जिल्लामा साना, मझौला एवं घरेलु उद्योगहरू रहेका छन्। प्रदेशमा दुई वटा औद्योगिक क्षेत्र र एउटा विशेष आर्थिक सेज छ। 

हाल सञ्चालनमा रहेका दुई वटा औद्योगिक क्षेत्रमध्ये बुटवल औद्योगिक क्षेत्रमा ६६ वटा र नेपालगन्ज औद्योगिक क्षत्रमा ३१ वटा गरी जम्मा ९७ उद्योग सञ्चालनमा रहेका छन्।

रुपन्देहीमा रहेका विशेष आर्थिक क्षेत्र सेजमा ११ वटा उद्योगहरू सञ्चालनमा रहेका छन् भने २ वटा उद्योग सञ्चालन हुने क्रममा छ। प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देहीको मातिपुर औद्योगिक क्षेत्र र बाँकेमा नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास भई निर्माण कार्य अगाडि बढेको छ।

१ खर्ब बढी औद्योगिक कर्जा

प्रदेशमा उद्योगहरू खुल्ने क्रम बढेसँगै लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले पनि बर्षेनी औद्योगिक कर्जा वृद्धि गरिरहेका छन्। बैंकले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ०८२ असार मसान्तमा ०८१ असार मसान्तको तुलनामा ६ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ।

यहाँका उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ४१ अर्ब २ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन्। औद्योगिक कर्जा मध्ये कृषि, विद्युत्, ग्यास, पानी, खानी र धातुका सामान उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशका सूचना अधिकारी क्रृषिदेव अर्यालले लुम्बिनी प्रदेश औद्योगिक हबको रूपमा विकसित हुँदै गएको बताए। उनले प्रदेशमा पर्याप्त चुनढुंगा खानी रहेको र चुनढुंगाको गुणस्तर समेत राम्रो भएकाले सिमेन्ट तथा क्लिकंर उत्पादन गरी भारतीय बजारमा निर्यात गर्न सकिने सम्भावना समेत रहेको बताए।

त्यस बाहेक जिल्ला जिल्लामा पाइने जडीबुटीलाई प्रशोधन उद्योगहरूको विस्तार गर्न सकिने सम्भावना प्रदेशमा रहेको बताए।

जनशक्तिमा समस्या

अहिले पनि धेरै उद्योगहरूमा भारतीय कामदारहरू कार्यरत छन्। लुम्बिनीका कोरिडोरमा पनि धेरै कामदार भारतीय छन्। उद्योगहरूको संख्या खुल्ने क्रम बढेपनि देशका युवा तथा दक्ष जनशक्ति विदेश पलायन हुँदा औद्योगिक क्षेत्रमा जनशक्तिको अभाव हुने गरेको छ। 

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले युवा तथा दक्ष जनशक्ति लाई विदेश पलायन हुनबाट रोकी स्वदेशी उद्योगमा जनशक्तिको रूपमा प्रयोग गर्नु चुनौतीपूर्ण रहेको बताए।

"यहाँ केही छैन भन्दै विदेश हिँड्छन्। त्यही युवा विदेशमा गएर श्रम गर्न तयार हुँदा यहाँ भने हुँदैन। त्यस्तैले विदेश पलायनलाई रोक्नु मुख्य चुनौती छ," उनले भने।

चिनियाँ कम्पनीको ५० उद्योग खोल्ने प्रस्ताव

चिनियाँ कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश सरकारलाई दुई सता अघि पत्र पठाउँदै औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्द्धनका विषयमा सहकार्य गर्न इच्छुक रहेको पत्र पठायो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङले लुम्बिनी प्रदेशको आधिकारिक भ्रमण गर्ने र त्यस अवसरमा प्रदेश सरकारसँग विदेशी लगानीका उद्योग स्थापनाका लागि हस्ताक्षर गर्ने प्रस्ताव उक्त पत्रमा छ।

उनले औद्योगिक विकास अन्तर्गत लुम्बिनी प्रदेशभित्र ५० वटा उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव गरेका छन्। यसले प्रदेशमा रोजगारी सिर्जना, स्थानीय स्रोतसाधनको उपयोग र दिगो आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। 

कम्पनीले उत्पादनमूलक उद्योगमार्फत प्रदेशको औद्योगिक आधार विस्तार गर्ने लक्ष्य लिएको उनले लेखेको पत्रमा उल्लेख छ। कम्पनीले चीनको विशाल बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण, नेटवर्क र बजार पहुँच उपलब्ध गराउने जनाएको छ।

प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थीका अनुसार लुम्बिनी प्रदेशमा औद्योगिक विकास र विदेशी लगानी आकर्षण सरकारको प्राथमिकता सूचीमा छ।

विशेष गरी कृषि, उत्पादनमूलक उद्योग, प्रशोधन उद्योग र निर्यातमुखी उत्पादनमा लगानी भित्र्याउने नीति लिइएको छ। यस्तो अवस्थामा चिनियाँ लगानी समूहबाट आएको प्रस्तावलाई गम्भीरतापूर्वक अध्ययन गर्ने तयारी भइरहेको छ।

फागुन ५, २०८२ मंगलबार १९:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।