नेकपा संयुक्तको चुनावी एजेण्डा : उद्यमी राष्ट्र र निष्कलङ्क नेतृत्व

नेकपा संयुक्तको चुनावी एजेण्डा : उद्यमी राष्ट्र र निष्कलङ्क नेतृत्व

काठमाडौं : घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले 'घुस नखाने राजनीति र घुस नखाने पार्टी'को मुख्य सङ्कल्पसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त घोषणापत्रमा भ्रष्टाचारविरुद्धको लडाइँलाई 'राष्ट्रिय लडाइँ' बनाउनुपर्ने र उद्यमी राष्ट्र निर्माणका लागि राजनीति भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिइएको छ।

घोषणापत्रमा भनिएको छ, "हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिन सक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौं। त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचारमुक्त राजनीति हो। त्यसैले भ्रष्टाचारविरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्छ। त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौं।"

त्यस्तै अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रूपमा रहेका पुराना शक्तिहरूले आफ्नो अयोग्यता साबित गरिसकेको र नयाँ पार्टीलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह नरहेको नेकपाको भनाई छ। नेकपा संयुक्त वर्तमान समयको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

"अहिले निर्वाचनको मैदानमा मुख्य शक्तिका रूपमा एकातिर ती पुराना शक्तिहरू छन्। जसले आफ्नो अयोग्यता साबित गरिसकेका छन्। अर्कोतर्फ ती नयाँ पार्टी छन्, जसलाई राष्ट्रले भोगिरहेका समस्याको कुनै परवाह छैन। मानौं उनीहरू रङ्गमञ्चमा आएपछि मात्रै नेपाली राजनीतिको इतिहास सुरु भएको हो। यसरी नेपालको राजनीति अँध्यारोतर्फ जाँदैछ, दुर्घटनातर्फ जाँदैछ। यस्तो अवस्थामा मुलुकले बिचौलिया तन्त्रका सहयोगी तथा आन्तरिक लोकतन्त्र मरिसकेका पुराना ठूला पार्टीहरूको विकल्प खोजेको छ," घोषणापत्रमा लेखिएको छ।

अगाडि लेखिएको छ, "नयाँ भनिने सिद्धान्तहीन, विचारहीन, पपुलिष्ट पार्टीहरूको पनि विकल्प खोजेको छ। यो राष्ट्रिय राजनीतिक निराशालाई चिर्न सक्ने नयाँ क्रान्तिकारी शक्तिको आशा गरेको छ। हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) समयको त्यस मागलाई पूरा गर्न प्रतिबद्ध छ। आन्तरिक लोकतन्त्रलाई ग्यारेण्टी गर्दै दलाल पुँजीवादसँग लड्न सङ्कल्पबद्ध छ।"

घोषणापत्रमा राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठूलो तगारो भएको उल्लेख गरिएको छ। घोषणापत्रमा भनिएको छ, "अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनासर्त दिँदैन। हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठूलो तगारो हो। अब हामीले भन्न सक्नुपर्छ। हाम्रा आवश्यकता र सर्तमा बाहेक विदेशी सहयोग लिँदैनौं।"

फागुन ५, २०८२ मंगलबार १६:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।