भ्रामक सूचना र चुनावी धाँधली रोक्न नेकपाको माग : भन्यो- 'निर्वाचन आयोग निष्पक्ष बनोस्'

भ्रामक सूचना र चुनावी धाँधली रोक्न नेकपाको माग : भन्यो- 'निर्वाचन आयोग निष्पक्ष बनोस्'

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीले देशमा यति बेला सरकारी निरंकुशता र भीडतन्त्रले निम्त्याउने अराजकता जस्ता दुईथरि अतिवादी प्रवृत्ति देखिएको बताएको छ। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार समितिको संयोजक अग्री सापकोटाले सरकारको कुशासन र अराजक समूहको ध्वंसात्मक क्रियाकलापले लोकतन्त्रलाई जोखिममा पारेको स्मरण गराए।

एकातिर दलाल र बिचौलियाको आडमा जनआन्दोलन दबाउने सरकारी प्रवृत्ति र अर्कोतर्फ जनभावनाको नाममा राष्ट्रपति भवन, संसद् र सिंहदरबार जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी गर्ने समूह सक्रिय रहेको उनको ठहर छ। निहत्था युवाको हत्या र सुरक्षाकर्मीलाई आगोमा जलाउने जस्ता दुवै खाले प्रवृत्ति राष्ट्रिय स्वाधीनता र स्थिरताका लागि खतरा रहेको नेकपाको भनाई छ।

आसन्न निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउन निर्वाचन आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा नेकपाको जोड छ। सापकोटाले निर्वाचन आचारसंहिता अनुगमनमा आयोगले दलैपिच्छे फरक व्यवहार गरेको र उल्लङ्घनका घटनामा ठोस कारबाही गर्न नसकेको आरोप लगाए। निर्वाचन बिथोल्न चाहने शक्तिहरू अझै सक्रिय रहेको औँल्याउँदै उनले आयोगलाई आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्न र जनविश्वास कायम राख्न आग्रह गरे।

उनले केही सञ्चारमाध्यमले पत्रकारिताको न्यूनतम मर्यादा र आचारसंहिता विपरीत पार्टीविरुद्ध भ्रामक सूचना सम्प्रेषण गरिरहेको भन्दै आपत्ति जनाए। समाचारको नाममा गलत सूचना फैलाएर पार्टीलाई अवमूल्यन नगर्न उनले चेतावनी दिए।

नव युवापुस्ताको आन्दोलनपछि उत्पन्न जटिलतालाई सामान्य बनाउन नेकपाले निरन्तर प्रयास गरिरहेको वक्तव्यमा उल्लेख छ।  "हामीले उठाउँदै आएका शासकीय सुधार, निर्वाचन प्रणाली, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता मुद्दा आज सबैका साझा एजेण्डा बनेका छन्," वक्तव्यमा भनिएको छ, "देशलाई इमानदारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति हाम्रो पार्टी मात्र हो।"

निर्वाचनको निर्णय वस्तुगत परिस्थितिको सही विश्लेषण भएको दाबी गर्दै सापकोटाले इतिहासका उपलब्धिलाई रक्षा गर्न, स्थायित्व र समृद्धिको पक्षमा उभिन आह्वान गरे। वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगलाई उच्च इमानदारी र जिम्मेवारी प्रदर्शन गर्न उनले आग्रह गरे।

फागुन ५, २०८२ मंगलबार १५:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।