प्रतिशोधकै कारण जेल पुगेको दाबी गर्ने रविले सम्झिए ‘अन्तिम इच्छा’ सोध्ने प्रहरी, पुराना दललाई भने- ‘हिसाब त लिन्छौँ’
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको मुद्दालाई चुनावी एजेन्डा बनाएका छन्। चितवन-१ को चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा आफूलाई सिध्याउन खोजिएको दाबी मात्र गरेनन्, आफूलाई पक्राउ गर्दाको क्षणसमेत सम्झिए।
भाषणका क्रममा लामिछानेले आफूलाई मध्यरातमा बेडरुमबाटै उठाउन आएका प्रहरी अधिकारीलाई सम्झिए। ती अधिकारीले ‘तेरो अन्तिम इच्छा के हो?’ भनी सोधेको भन्दै लामिछानेले त्यसको जवाफ मतदाताले चुनावमार्फत दिने बताए।
गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रहरी टोली हात्तिगौँडास्थित उनको निवासमा पुगेका थिए।
पक्राउ गर्ने क्रममा तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको थियो। प्रहरी र लामिछानेका सहयोगीबीच भएको विवादको उक्त भिडियो त्यतिबेला भाइरल भएको थियो।
०००
सम्बोधनकै क्रममा लामिछानेले एकातिर उनले आफूमाथि राज्यले ‘प्रतिशोध’ साँधेको र आफूले कसैसँग व्यक्तिगत प्रतिशोध नलिने बताए, तर अर्कोतिर उनले ३४ वर्षको ‘हिसाब लिने’ भन्दै आक्रामक चेतावनी पनि दिए।
आफूमाथि भएका अन्यायको लडाइँ कानुनी रूपमा आफैँ लड्ने बताउँदै उनले भने, ‘मलाई जिल्लै पिच्छे मुद्दा हालेका हिसाबहरू छन्। म माथि भएका अन्याय अत्याचारका हिसाबहरू छन्। त्यसको न्यायिक लडाइँ म लडुँला। तर ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब हामी लिन्छौँ।’
लामिछानेले आफूलाई ‘मानसिक र भौतिक रूपमा सखाप पार्न खोजिएको’ भन्दै मतदाताको सहानुभूति बटुल्ने प्रयास गरे। तर, ‘हिसाब लिने’ उनको शब्दले उनी आफैँ पनि राजनीतिक प्रतिशोधकै भाषा बोले।
रविले आफूलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरीलाई त्यतिबेला जवाफ नदिएको तर आगामी फागुन २१ गते हुने चुनावमा जनताले त्यसको उचित जवाफ दिने दाबी गरे। उनले यस पटकको मतदानलाई सामान्य प्रक्रिया मात्र नभई ‘नीलो क्रान्ति’ र ‘हिसाब गर्ने दिन’ का रूपमा चित्रण गरेका छन्।
चितवनलाई ‘इतिहास रच्ने भूमि’ भन्दै उनले ३ वर्षअघि यहीँबाट सुरू भएको क्रान्तिले देशको पहिलो पार्टी बन्ने यात्रा तय गरेको दाबी गरे।
३४ वर्षको शासन सत्ता चलाउनेहरूलाई लक्षित गर्दै उनले भनेका छन्, ‘राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यस पटक गर्नैपर्ने हुन्छ।’
फागुन ५, २०८२ मंगलबार १४:३३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।