रुपन्देहीमा नमुना विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्म दलको प्रचारमा

रुपन्देहीमा नमुना विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्म दलको प्रचारमा

रुपन्देही : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै रुपन्देहीमा सरकारी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू खुलेआम दलीय प्रचारमा उत्रिएका छन्।

जिल्लाका ‘नमूना’ मानिने विद्यालयकै जिम्मेवार व्यक्तिहरूले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै विभिन्न दल र उम्मेदवारका पक्षमा मत माग्न थालेका हुन्।

शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, कान्ति माध्यमिक विद्यालयका शिक्षक दिलीप बेलबासे र कालिका माविका शिक्षक श्याम श्रेष्ठ चुनावी प्रचारमा सक्रिय देखिएका हुन्।

प्रधानाध्यापक लामिछाने रुपन्देही क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलको घरदैलो अभियानमै सहभागी भएका छन् भने शिक्षकद्वय बेलबासे र श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रचारमा जुटेका छन्।

स्थानीयका अनुसार लामिछाने चुनावी घरदैलो तथा भेटघाट कार्यक्रममा भौतिक रूपमै सक्रिय छन्। उता, शिक्षक बेलबासे र श्रेष्ठले सामाजिक सञ्जाल तथा रास्वपाका कार्यक्रममार्फत भोट मागीरहेका छन्।

सरकारी सेवा सुविधा लिने र समाजलाई दिशा निर्देश गर्ने सरकारी विद्यालयका प्रमुख प्रशासक तथा शिक्षकहरू नै यसरी खुलेआम दलको झन्डा बोकेर हिँड्दा नैतिक र कानुनी प्रश्न उठेको छ।

आचारसंहिता उल्लंघनको विषयमा प्रधानाध्यापक लामिछानेले आफूले व्यक्तिगत हैसियतमा धारणा राखेको दाबी गर्दै बचाउ गरेका छन्।

‘म कुनै आधिकारिक हैसियतमा प्रचारमा लागेको होइन, बाटोमा हिँड्दा व्यक्तिगत रूपमा साथीभाइसँग भेटघाट भएको हो,’ उनले भने, ‘विद्यालयको काममा कुनै असर नपर्ने गरी व्यक्तिगत विचार राख्नु मेरो अधिकार हो।’

यस्तै, शिक्षक दिलीप बेलबासेले दलको प्रचारात्मक सामग्री सामाजिक सञ्जालबाट शेयर गर्नु गल्ती भएको स्वीकारे।

‘मैले बालेन आउँदाको भिडियो हालेको हुँ, दलको प्रचार गर्ने नियतले होइन, अबदेखि यस्तो गर्दिनँ,’ उनले भने। अर्का शिक्षक श्याम श्रेष्ठले पनि गल्ती स्वीकार्दै भने, ‘अबदेखि लाग्दिनँ, शेयर गरेका सामग्री पनि हटाउँछु।’

निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्यालले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताइन्।

‘निर्वाचन आचारसंहितामा सरकारी सेवामा रहेका व्यक्तिले दलगत प्रचारप्रसारमा संलग्न हुन नपाइने स्पष्ट उल्लेख छ,’ उनले भनिन्, ‘उजुरी परेमा वा प्रमाण प्राप्त भएमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइन्छ।’

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले पनि सरकारी शिक्षक र कर्मचारी प्रचारमा लाग्नु आचारसंहिता विपरीत हुने बताए।

‘सरकारी शिक्षक र कर्मचारी किन प्रचारमा लाग्नु पर्यो? यो आचारसंहिता विपरीत हुन्छ, यसो गर्न मिल्दैन’, उनले भने।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ को १० नम्बर बुँदाको खण्ड (क) मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।

फागुन ५, २०८२ मंगलबार १३:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।