कांग्रेसबाट पटक-पटक लाभको पदमा पुगेका जितेन्द्र नारायण देव एमालेबाट फेरि कांग्रेसमै फर्किए

कांग्रेसबाट पटक-पटक लाभको पदमा पुगेका जितेन्द्र नारायण देव एमालेबाट फेरि कांग्रेसमै फर्किए

काठमाडौं : पूर्व मन्त्री तथा संविधान सभा सदस्य जितेन्द्र नारायण देव पुनः नेपाली कांग्रेसमा फर्किएका छन्।

उनले मंगलबार एक औपचारिक विज्ञप्ति जारी गर्दै आफू र आफूलाई सहयोग गर्ने सम्पूर्ण साथीहरू नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका हुन्।

देवले हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता र आस्था व्यक्त गरेका छन्।

विज्ञप्तिमा उनले महाधिवेशनले पारित गरेका नीति, विचार, योजना र प्रस्तावहरूलाई पूर्ण रूपमा स्वागत र आत्मसात गरेको बताएका छन्।

नयाँ नेतृत्वले देशमा सामाजिक-राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने र पार्टीसँगै देशलाई पनि जनहितमा बदल्ने विश्वास उनले व्यक्त गरेका छन्।

देव वि.सं. २०७४ मा भएको निर्वाचनमा मधेश प्रदेशबाट खुला सदस्यका रूपमा ६ वर्षका लागि निर्वाचित भएका थिए। उनको राष्ट्रिय सभाको कार्यकाल २०८० फागुन २० मा सकिएको थियो।

राष्ट्रिय सभाको कार्यकाल सकिएपछि उनी २०८१ असारमा एमालेमा प्रवेश गरेका थिए। तर, २०८२ फागुन ५ गते उनी पुनः नेपाली कांग्रेसमै फर्किएका हुन्।

उनी २०७४ मा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा थिए।

फागुन ५, २०८२ मंगलबार १२:४५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।