सहकारी ठगीबाट बच्न काठमाडौं महानगरले निकाल्यो सूचना

सहकारी ठगीबाट बच्न काठमाडौं महानगरले निकाल्यो सूचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूमा बचत गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

‘धेरै ब्याजको लोभमा साँवा गुम्नबाट बच्नुहोस्’ भन्ने सन्देशसहित महानगरले दुःख गरेर कमाएको पैसा सुरक्षित गर्न नागरिकलाई सचेत गराएको हो।

सहकारी छान्दा कम्तीमा ५ वटा मुख्य विषयमा जानकारी लिन महानगरले सुझाएको छ। महानगरले जारी गरेको सूचनामा बचतकर्ताले सहकारी संस्था दर्ता भएको छ कि छैन?, वार्षिक लेखापरीक्षण नियमित गराएको छ कि छैन? भनेर बुझ्न समेत आग्रह गरेको छ।

यसका अलावा ब्याजदर स्वभाविक खालको छ कि छैन?, संस्थाको वित्तीय पारदर्शिता कस्तो छ? र नियामक निकायको निगरानी छ कि छैन? भन्ने बारेमा पनि स्पष्ट भएपछि मात्र आफूले दुःख गरेर कमाएको रकम सम्बन्धित सहकारीमा बचत गर्ने वा नगर्ने निर्णय लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

केही समयअघि मात्र काठमाडौं महानगरका निवर्तमान मेयर वालेन्द्र साह रास्वपामा प्रवेश गरेका छन्। अर्कोतर्फ, रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन् र उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा छ।

बालेन प्रधानमन्त्री बन्न भन्दै महानगर प्रमुखबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेपछि अहिले काठमाडौं महानगरको नेतृत्व एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोलले गर्दैछिन्।

फागुन ५, २०८२ मंगलबार ०९:५०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।