सीमापार विद्युत् आयोजनाका लागि भारतीय निकायबाट लिट्मस् इन्डस्ट्रिज स्वीकृत
काठमाडौं : नेपालको अग्रणी तार तथा केबल उत्पादक कम्पनी लिट्मस् इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय प्रसारण निकाय ‘पावर ग्रिड कर्पोरेशन अफ इन्डिया’बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन आपूर्तिका लागि स्वीकृति पाएको छ। योसँगै लिट्मस् सीमापार विद्युत् परियोजनाका लागि छानिने एकमात्र नेपाली उत्पादक बनेको छ।
सम्झौताअनुसार लिट्मस् इन्डस्ट्रिजले ९०० मेगावाटको अरुण-३ जलविद्युत् आयोजनासँग सम्बन्धित ४०० केभीको दुई हजार ७ सय ९९ किलोमिटर ‘एसीएसआर मूस कन्डक्टर’ उत्पादन र आपूर्ति गर्नेछ। यी कन्डक्टरहरू नेपालको डिडिङ्ग–ढल्केबर र भारतको बथनाहा जोड्ने सीमापार प्रसारण लाइनमा प्रयोग गरिनेछन्।
नेपालमै पहिलो पटक उत्पादन हुन लागेको यो ४०० केभी कन्डक्टरका लागि पावर ग्रिडले लिट्मसको कारखानाको उत्पादन क्षमता, गुणस्तर र पूर्वाधारको गहन मूल्याङ्कन गरेको थियो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट हुनुलाई नेपाली औद्योगिक क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको छ।
यसअघि पनि लिट्मस् इन्डस्ट्रिजले नेपाल विद्युत् प्राधिकरणलाई हेटौंडा–ढल्केबर–इनरुवा खण्डका लागि ३,६०० किलोमिटर कन्डक्टर आपूर्ति गरिसकेको छ। यो नयाँ स्वीकृतिले नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा भरपर्दो आपूर्तिकर्ताका रूपमा स्थापित गरेको छ।
फागुन ५, २०८२ मंगलबार ०८:५२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।