सर्लाहीमा निर्वाचनको तयारी अन्तिम चरणमा, ३७ सय कर्मचारी खटाइने

सर्लाहीमा निर्वाचनको तयारी अन्तिम चरणमा, ३७ सय कर्मचारी खटाइने

सर्लाही : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी तीव्र पारिएको छ।

जिल्ला निर्वाचन कार्यालय मलङ्गवामा मतपत्रबाहेकका सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए।

आयोगबाट प्राप्त हुने र जिटूजी प्रक्रियामार्फत खरिद गरिएका सबै सामग्री सुरक्षाकर्मीको उपस्थितिमा प्याकिङ भइरहेको छ। प्याकिङ सकिएपछि ती सामग्री मतदानअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ। चारवटै निर्वाचन क्षेत्रका मतपत्र भने फागुन १० गतेपछि मात्र आउने जनाइएको छ।

जिल्लाभर चार निर्वाचन क्षेत्रमा तीन सय १२ मतदानस्थलअन्तर्गत छ सय २८ मतदान केन्द्र तोकिएका छन्। यसपटक ३ हजार सात सय ६८ कर्मचारी खटाइनेछन्।

प्रत्येक केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी रहनेछन् भने आवश्यकताअनुसार दुई स्थानीय सहयोगीसमेत खटाउन सकिने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए।

कर्मचारीलाई केन्द्र तोक्ने र तालिम दिने काम अघि बढेको छ। निर्वाचन सुरक्षाका लागि पनि तयारी सुदृढ गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार काठमाडौंसहित विभिन्न गणबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भइरहेको छ।

सरकारी संयन्त्र तयारीमा जुटेसँगै जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ।

फागुन ४, २०८२ सोमबार १७:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।