नेप्से ओरालो लाग्दा ३ कम्पनीको सेयरमा 'सकारात्मक सर्किट'
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन्। नेप्से परिसूचक ८.१६ अंकले ओरालो लागेर २ हजार ६ सय ६२.९१ बिन्दुमा कायम भयो।
अघिल्लो कारोबार दिन बिहीबार करिब ११ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा खुम्चियो।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये तीन वटामा मात्र सामान्य सुधार देखिएको छ भने बाँकी १० वटा उपसमूहको सूचक घटेको छ। वित्त (फाइनान्स), होटल तथा पर्यटन, र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा कमले बढेका छन्। यता, जलविद्युत (हाइड्रोपावर) समूहमा १.०२ प्रतिशतको गिरावट आएको छ भने बाँकी समूहहरू पनि ओरालो लागे।
दिनभर ३३५ कम्पनीका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ८० हजार ५५९ पटक खरिद-बिक्री भए। सूचीकृत कम्पनीमध्ये ८६ वटाको मूल्य बढ्दा १६३ वटाको मूल्य घटेको छ भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
समग्र बजार घटे पनि तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए।
सर्वाधिक गुमाउनेमा खानीखोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन्, जसको सेयर मूल्य ९.३८ प्रतिशतले घट्यो। त्यस्तै नारायण विकास बैंक र अरुण भ्याली हाइड्रोको सेयर मूल्यमा पनि ४ देखि ५ प्रतिशतको गिरावट देखियो।
कारोबार रकमको आधारमा सोमबार रिदी पावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ६५ करोड ३ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
फागुन ४, २०८२ सोमबार १५:५६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।