बक्स अफिसमा 'आ बाट आमा'को बलियो पकड : प्रदर्शनरत कुन फिल्मको कमाई कति ?
काठमाडौं : चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले सोमबार फागुन २ गते शनिबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको हो।
रिपोर्टअनुसार सबैभन्दा धेरै ग्रस कलेक्सन फिल्म ‘आ बाट आमा’ले गरेको छ। माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्मको ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री हुँदा ८ करोड ३१ लाख ग्रस कलेक्सन गरेको छ।
चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको यस फिल्मको निर्माण टिमले दुईअघि नै १० करोड २८ लाख ग्रस कलेक्सन गरेको दाबी गरेको थियो। तर बोर्डले सार्वजनिक गरेको रिपोर्टमा उनीहरूको दाबीभन्दा ठिक २ करोड कम देखियो।
फिल्ममा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तका अलवा साइग्रेस पोखरेलको पनि मुख्य भूमिका रहेको छ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कुमारी’को ग्रस कलेक्सन ५६ लाख पुगेको छ। शनिबार रातिसम्म फिल्मले १७ हजार २५ वटा टिकट बेच्दै उक्त रकम कलेक्सन गरेको हो। प्रचारप्रसारमा व्यापक पारिएको यो फिल्मलाई निर्देशन राउतले निर्देशन गरेका छन्।
नव कलाकारलाई लिएर निर्माण गरिएको कुमारीमा आकृति राजभण्डारी, अभिषेक खड्का लगायतको अभिनय रहेको छ। लभस्टोरी कथामा निर्माण गरिएको फिल्मप्रति दर्शकको आकर्षण देखिएन। यसअघि निर्देशक दिनेश राउतको फिल्म ‘महाभोज’प्रदर्शनमा आएको थियो। त्यो फिल्ममा चल्तीका कलाकार राख्दा पनि बक्स अफिस रिपोर्ट कमजोर बनेको थियो।
गत शुक्रबारबाट नै प्रदर्शनमा आएको फिल्म ‘रमिताको पिरती’ले २० लाख नै ग्रस कलेक्सन गर्न सकेको छैन। शनिबार रातिसम्म फिल्मले बक्स अफिसमा १९ लाख ग्रस कलेक्सन गर्यो। आना शर्माले पहिलो पटक लगानी गरेको यस फिल्मको पाँच हजार ९३७ टिकट बिक्री भएको छ। बोर्डको तथ्याङ्कअनुसार प्रदर्शनरत तीन फिल्ममध्ये ‘रमिताको पिरती’को व्यापार कमजोर देखियो।
फिल्मलाई सुदिप्ताले निर्देशन गरेकी हुन् भने कलाकारमा आना शर्माका अलवा धिरज मगर, समीर श्रेष्ठको मुख्य भूमिका रहेको छ। समीर श्रेष्ठ गायनबाट यसै फिल्ममार्फत अभिनेतामा डेब्यु गरेका हुन्।
हलमा यी बाहेक अन्य चार वटा फिल्म प्रदर्शनमा छन्। गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको ‘परान’ अझै केही हलमा चलिरहेको छ। फिल्मले १८ करोड नजिकको व्यापार गरिसकेको छ। बोर्डले यस साताको बक्स अफिसमा परानको कलेक्सन समेटेको छैन।
त्यसैगरि गत शुक्रबारबाट हलमा लागेको तीन फिल्म ‘बिगुल’,‘श्री बुकुरो : द कलिङ होम’ र ‘शिवाँश’ रहेका छन्। यी फिल्मको हलको अवस्था हेर्दा दर्शकबाट अपेक्षाअनुरूप साथ पाएको देखिँदैन। तर शुक्रबारबाट प्रदर्शनमा आएका कुन फिल्मले कति ग्रस कलेक्सन गर्यो भन्ने तथ्यांक अर्को सोमबार सार्वजनिक हुने बक्स अफिस रिपोटमा समेटिने छ।
फागुन ४, २०८२ सोमबार १५:३२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।